नेपालमै रासायनिक मल उद्योग खोल्ने योजना कागजमै सीमित, ५ वर्षमा पनि लागेन टुंगो

सांकेतिक तस्वीर

काठमाडौं । वर्षेनी खेती गर्ने सिजनमा रासायनिक मलको अभाव भएपछि सरकारले ५ वर्ष अघि नेपालमै रासयनिक मल काराखाना खोल्ने घोषण गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत उक्त घोषणा गरेको थिए ।

 

तर, सरकारको दृढ इच्छाशक्ति र तत्परताका अभाव उक्त घोषणा कागजमै सीमित हुन पुगेको छ । सरकारले नेपालमै मल उद्योग खोल्ने औपचारिक घोषणा गरेको झन्डै ५ वर्ष बित्न लाग्दा समेत कुनै प्रक्रियाा अघि बढ्न सकेको छैन ।

 

तत्कालीन सरकारले अध्ययन बिनै सस्तो लोकप्रियताको लागि घोषणा गरेको उक्त योजना त्यसपछिका सरकारले पनि प्राथमिकतामा नराख्दा अहिलेसम्म प्रक्रिया अघि बढ्न नसकेको हो ।

 

अहिलेसम्म मल काराखाना खोल्न सरकारले कुनै कार्यक्रम अगाडि बढाएको छैन । लगानी बोर्डले सम्भाव्यता अध्ययन गरे पनि बोर्डको प्रतिवेदन अनुसार गर्नुपर्ने कुनै काम अघि बढेको छैन ।

 

कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले उद्योगको विषयमा लगानी बोर्डलाई जिम्मा दिएका कारण बोर्डबाट आएको निर्ण अनुसार ग्यासबाट अथवा बिजुलीबाट मल उद्योग सञ्चालन गर्ने टुंगो लाग्न नसकेको बताए ।

 

उनले बोर्डले जिम्मा पाएको र खर्च बढी लाग्ने भएकाले ठोस निर्णय हुन नसकेको बताए । ‘मल उद्योग निर्माणका लागि खर्च बढी लाग्ने देखियो, लगानी ठूलो लाग्ने र ग्यासबाट मल उद्योग चलाउने कि बिजुलीबाट चलाउने भन्ने कुरा पनि निष्कर्ष भएको छैन,’ शर्माले चाणक्य पोष्टसँग भने ।

 

मल उद्योग खोल्ने विषयमा लगानी बोर्डबाट विभिन्न अध्ययनहरू पनि भए । भारतको डेभलपमेन्ट कर्पोरेसन अफ कर्नाटकमार्फत सम्भाव्यता अध्ययन गरेको थियो । नेपालमा प्राकृतिक ग्यासबाहेक अरु ऊर्जा प्रयोग गरेर तत्काल मल उद्योग सञ्चालन सम्भव नभएको सम्भाव्यता अध्ययनले प्रतिवेदन दिएको थियो ।

 

मल उद्योग स्थापनका लागि लागत धेरै लाग्ने र जलविद्युत् आयोजना उपलब्ध गराउनुपर्ने जस्ता निष्कर्षले यो विषय ओझेलमा परेको हो । अध्ययनका अनुसार प्राकृतिक ग्यासबाट चल्ने मल उद्योगमा हरेकदिन ११५ मेगावाट बिजुली खपत हुनेछ । साथै दैनिक १ हजार १९७ मेट्रिकटन प्राकृतिक ग्यास खर्च हुने अनुमान गरिएको छ ।

 

बोर्डले निकालेको निष्कर्ष अनुसार सार्वजनिक निजी साझेदारी तथा निजी लगानीमा मात्रै मल उद्योग निर्माण सम्भव छ । बिजुली र कोइलाबाट उद्योगलाई चलाउँदा उत्पादन लागत निकै महंगो हुने भएकाले प्राकृतिक ग्यास नै उचित विकल्प मानिएको छ । सम्भाव्यक्ता अध्ययनका अनुसार नेपालमा रसायनिक मल उद्योग खोल्न ६५० मिलियन डलर यानी नेपाली ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

 

मलको उत्पादन लागत कति पर्न जान्छ ?

 

सम्भाव्यक्ता अध्ययनका अनुसार बिजुलीबाट मल उत्पादन गर्दा प्रतिकिलो उत्पादन लागत ४९ रुपैयाँ हुन्छ । प्राकृतिक ग्यासबाट मल उत्पादन गर्नेे हो भने प्रतिकिलो मल ३१ रुपैयाँमा उत्पादन हुन्छ । कोइलाबाट मल उत्पादन गर्ने हो भने प्रतिकिलो मल उत्पादन गर्न ४० रुपैयाँ बढी लाग्ने छ । १ खर्ब खर्चिएर कोइलाबाट चल्ने मल उद्योग बनाइए पनि १६ लाख मेट्रिक टन बढीकोइला आयात गर्नुपर्ने छ ।

 

सरकारले जलविद्युतबाट उत्पादन हुने मलमा किलोमै ३० रुपैयाँभन्दा बढी अनुदान कम्पनीलाई दिनुपर्ने हुन्छ । कोइलाबाट मल उत्पादन गर्दा भने किलोमा २० रुपैयाँ हाराहारी अनुदान दिनुपर्ने हुन्छ ।

 

यस अघि सन् १९८४ मा तत्कालीन सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकालाई मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि अनुरोध गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

 

नेपालमा करिब ७ लाख मेट्रिक टन रासायनिक मल चाहिने गरेको छ ।सरकारले मल आयातका लागि मात्रै वार्षिक १० अर्ब बढी अनुदान दिँदै आएको छ ।

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा