काठमाडौँ । भन्सार विभागले भन्सार महसुलको विद्युतीय भुक्तानी (ई पेमेन्ट) प्रणाली सुरू गरे पनि उक्त सेवा प्रभावकारी हुन नसकेको गुनासो आएको छ ।
विभागले माघ १२ गतेदेखि (७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस)का दिन नयाँ युगको सुरूआत भन्दै प्रयोगमा ल्याएको ईपेमेन्ट प्रणालीले काम गर्न नसकेपछि सैवाग्राहीले हैरानी बेहोर्नु परेको हो ।
ईपेमेन्ट प्रणालीको सुरूआतसँगै व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत् नै तिर्न सक्ने विश्वास लिइएको थियो । साथै, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता आउने बताइएको थियो ।
तर, व्यवसायीहरूले सामान आयातका लागि अनलाइन मार्फत भन्सार शुल्क भुक्तानी गरे पनि विभागमा नदेखाउँदा सास्ती भाग्नु परेको गुनासो गरिरहेका छन् ।आयातकर्ताले सामान आयात बापतको भन्सार शुल्क विभागको बैंक खातामा जम्मा गर्दिए पनि भन्सारको सिस्टममा नदेखाउँदा समयमै सामान भित्र्याउन सकेका छैनन् । यसले व्यवसायीले समयमै सामान डेलिभरी गर्न सकेका छैनन् भने अनेक झन्झट समेत बेहोर्नु परिरहेको छ ।
आयातकर्ताले विभिन्न अनलाइन माध्यबाट भन्सारको खातामा पैसा हाल्दिने तर भन्सारको सिस्टममा ३/४ दिनसम्म पनि पैसा आएको नदेखाउँदा व्यवसायीले सामान छुटाउन कुर्नुपर्ने गरेको छ । अनलाइन मार्फत भुक्तानी गरेको रकम तुरुन्तै सिस्टममा देखाउनु पर्ने भए पनि नदेखाउँदा आयातकर्ताले हैरानी बेहोर्नुपरेको हो।यसले सूचना प्रविधिमा भइरहेको विकास र अनलाइन भुक्तानी प्रणालीलाई नै भद्धा मजाक बनाएको सेवाग्राहीको भनाइ छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुवास आचार्य अनलाइनबाट भन्सार शुल्क भुक्तानीले सहज हुनुपर्ने भए पनि समयमै सिष्टमले काम नगर्दा समस्या भोग्नुपरेको बताउँछन् ।
‘अनलाइन मार्फत भुक्तानी प्रणालीले सहजता त ल्याएको छ, तर सुधार भएन्,’ उनले भने, ‘यसको विकल्प भनेकै थप सुधार गर्ने हो । पठाएको पैसा सिष्टममा नदेखाएपछि व्यापारीलाई सास्ती हुने गरेको छ ।’
सामान आयातकर्ताले भन्सार शुल्क अनलाइन प्रणलीबाट विभागको राष्ट्रिय वाणिज्य बैंक मार्फत पैसा तिर्ने गरेका छन् । यसमा राष्ट्रिय वाणिज्य बैंक वा भन्सार विभागको प्रणालीले उक्त भुक्तानी शुल्क नदेखाएको उनीहरुको भनाइ छ ।
‘समस्या देखिएको छ, सुधार गर्ने प्रयासमा छौं’
भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराइले विभागको अनलाइन प्रणालीमा समस्या आएको स्वीकारे । ‘हामी कहाँ पनि विभागको अनलाइन प्रणालीमा समस्या आएको देखिएको छ, त्यसैले अब छलफल गरेर सुधार गछौँ,’ उनले भने ।
यता, राष्ट्रिय वाणिज्य बैंकका प्रवक्ता दिवेश लोहनी बैंकिङ प्रणालीका कारण उक्त समस्या नरहेको दाबी गर्छन् । ‘यसमा यही कारणले हो भन्न सकिँदैन् । तीनवटै पक्षको कारणले समस्या आउनसक्छ,’ उनले भने, ‘भन्सार शुल्क तिरेपछि भन्सारको सिष्टमले देखाउने हो, बैंकिङ सिष्टमले राजस्व जम्मा भएको मात्रै देखाउँछ । यो हाम्रो समस्या होइन् ।’
भन्सार एजेन्टले चेकजाँच गरेपछि शुल्क भुक्तानी प्रक्रिया अघिबढ्छ । भन्सारले शुल्क तोकेपछि क्लेरीङ भएर राजस्व खातामा पैसा जम्मा हुने र त्यसपछि मात्रै बैंकले देखाउने उनले बताए ।
राजस्व खातामा शुल्क जम्मा भएको सूचना बैंक मार्फत भन्सारमा गएपछि विभागको प्रणालीले देखाउने भएकाले यो बीचमा कुनै एक सिष्टमका कारण मात्रै समस्या आयो भन्न नमिल्ने उनको भनाइ छ ।