सीएनएन । बेइजिङ ओलम्पिक्स सुरु भएसँगै विश्वकै पहिलो ‘सेल्फ ड्राइभिङ हाइ स्पीड’ रेल पनि सञ्चालनमा आएको छ । चीनले ‘फुक्सिङ’ नामको नयाँ बुलेट ट्रेन संचालनमा ल्याएको हो ।
यसले चीनको राजधानी बेइजिङ र जाङजिआ सहरलाई जोड्ने छ । गत जनवरीमा मात्र सार्वजनिक गरिएको यो रेल ३५० किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्न सक्छ ।
यस रेलले खेलाडीहरुलाई ओलम्पिक आयोजना गरिएका दुई प्रमुख शहरबीचको यात्रा गराउनेछ । यस रेलले दुई सहरबीचको तीन घण्टाको दुरीलाई ५६ मिनेटमा छोट्याएको छ । यो स्टेसन निर्माण हुन ३ वर्ष लागेको थियो ।
यसलाई इन्जिनियरिङ क्षेत्रकै उल्लेखनीय उपलब्धी बताइन्छ । सन् २०१९ मा निर्माण सम्पन्न भएको सो स्टेसन ‘ग्रेट वाल’ प्रवेश गर्ने चट्टावनयुक्त द्वार हो । त्यसैले शताब्दीऔँ पुरानो त्यो पर्खालको संरचनामा कुनै क्षति नपुगोस् भनेर रेलवे लाइनलाई जमिन मुनि एकदमै गहिराइमा निर्माण गरिएको थियो ।
यो स्टेसन जमिन भन्दा १०२ मिटर तल छ र यसको क्षेत्रफल ३६ हजार वर्गमिटर रहेको छ । १०२ मिटर भनेको झन्डै तीन तलाको घर जत्रो संरचना हो । यसकारण पनि यसलाई विश्वकै सबैभन्दा गहिराइमा बनाइएको सबैभन्दा ठूलो भूमिगत हाइ–स्पीड रेलवे स्टेसन भनिएको छ ।
युनेस्कोको विश्व सम्पदाको सूचीमा रहेको संरचनाको मुनि यसरी १२ किलोमिटर लामो सुरुङ निर्माण गर्नु अत्यन्तै जटिल काम थियो । यसका लागि हरेकपटक विस्फोटन या तोडफोड गर्दा अत्यन्तै सटिक ढङ्गमा सावधानीपूर्वक हिसाब गरेर काम गरिएको थियो ।
यो अटोमेटिक रेल भएपनि चालक त्यहाँ हरसमय उपस्थित रहने बताइएको छ । यो रेल अटोमेटिक चल्न, रोकिन र स्टेसनहरुको बीचमा गति नियन्त्रण गर्न समेत सक्षम छ । त्यस्तै यसमा फाइभ–जी सिग्नल पनि जडान गरिएको छ भने अत्याधुनिक लाइटिङ, र सेन्सरहरुले प्रत्यक्ष डाटा संकलन गरि रेल सञ्चालनका समयमा देखा पर्न सक्ने समस्याको पहिचान गर्नेछ ।
त्यस्तै खेलाडीहरुलाई ध्यानमा राख्दै यसमा विन्टर खेलका विभिन्न सामान र ठुल्ठूला उपकरणहरु अटाउनलाई पनि पर्याप्त खालि ठाउँ राखिएको छ । क्याबिनहरुमा यसकै लागि भनेर विशेष स्टोरेज निर्माण गरिएको छ ।