काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारका लागि अनुमति लिइएभन्दा झण्डै पाँच गुणा बढी रुख काटिएको छ । वन मन्त्रालयले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार कुल ९ हजार ८०० वटा रुख काट्ने अनुमती दिइएकोमा ४८ हजार रुख कटान हुने भएको हो ।
हालसम्म ४६ हजार ५७८ वटा रुख कटान भइसकेको आयोजनाले जानकारी दिएको छ । नारायणघाट–बुटवलको पहिलो खण्ड (बुटवल–दाउन्ने) मा ३ हजार ५०० रुख कटानका लागि अनुमति दिए पनि आयोजनाले ११ हजार रुख कटान गरिसकेको हो । यस खण्डमा अझै १ हजार रुख काट्न बाँकी रहेको छ ।
त्यसैगरी, दोस्रो खण्ड (दाउन्ने–गैंडाकोट)मा ६ हजार ३०० कटान अनुमति पाएकोमा ३६ हजार रुख कटान भइसकेको छ । यो खण्डमा ९८ प्रतिशत रुख कटानको काम भइसकेको छ । आयोजना अन्तर्गत ३५ हजार ५७८ वटा रुख कटान भइसकेको दोस्रो खण्डका आयोजना प्रमुख रमेश दिष्टीले बताए ।उनका अनुसार रुख कटानका लागि पूरै प्रकृया पुर्याएर काम गरिएको छ । उनले लालपुर्जा भएको क्षेत्रमा नै रुख कटान गरिएको बताए ।
निकै सुस्त गतिमा काम भइरहेको यस सडकमा पछिल्लो समय रुख कटानले तीव्रता पाएको हो । हालसम्म समग्रमा ९४ प्रतिशत रुख कटान भइसकेको आयोजनाले बताएको छ ।
आयोजनाका पहिलो खण्डका प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारपछि पोलहरू समेत राख्नलाई स्थान चाहिएकाले बढी रुख काट्नु परेको बताए । उनले अनुमती लिएर रुख कटान गरिएको दाबी गरे । ३० सेन्टिमिटरभन्दा सानो गोलाकार भएको रुखलाई संख्यामा नराखिने र रिलोकेसन गर्दा पोलहरु समेत हटाउनुपर्ने भएकाले धेरै रुख काट्नुपरेको बताए । उनले रुख काटेर वनलाई नै हस्तान्तरण गर्ने गरेको बताए । ‘हामीले पूरै अनुमती लिएर रुख काटेका छौं, रुख काटेर वनलाई नै हस्तान्तरण गरिरहेका छौँ,’ दिष्टीले चाणक्य पोष्टसँग भने ।
अहिले रुख कटानको काम धमाधम भइरहेको उनले बताए । ‘काम धमाधम अघि बढिरहेको छ, दैनिक १० देखि १५ वटा रुख कटानको काम भइरहेको छ, ठेकेदारले प्लान अनुसार राम्रो काम गरे २ वर्षमा विस्तार हुन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
यस्तै आयोजनाका निर्देशक शुशिलबाबु ढकालले स्वीकृति बिना रुख कटान गर्न नपाउने भएकाले स्वीकृति लिएरै रुख कटान भएको बताए । उनले तोकिएको संख्याभन्दा बढी रुख कटान भएको स्वीकार्दै सरकारबाट अनुमति नलिइ बढी संख्यामा रुख काटिएको बताए ।
उनले ठेकेदारले स्वीकृति लिएरै रुख कटान गरे पनि इनिसियल इन्भाइरोमेन्टल एक्जामिनेसन (आईईई) मा संख्या अपडेट गर्नुपर्ने भए पनि त्यसो नभएको बताए । ‘रुख कटान स्वीकृत बिना ठेकेदारले हात हाल्न पनि पाउँदैन, तर रुख काट्नु अघि आईईईमा संख्या थप गर्नुपर्थ्यो,’ ढकालले चाणक्य पोष्टसँग भने ।
१२ मिटर चौडाइ रहेको नारायणघाट –बुटवल सडकलाई २३ देखि ४२ मिटरको चौडा बनाउने तयारी भइरहेको छ । सो क्रममा रुख काटिएको हो । ठेकेदारले पोल राख्नका लागि समेत ठाउँ आवश्यक पर्ने भन्दै थप रुखहरू कटान गरेको उनले बताए ।
३० सेन्टिमिटरभन्दा बढी मोटाइकारुख काटिने भनेर विगतमै चिह्न लगाइएका थिए । २०१७ मै अध्ययन भएर रुख कटानको संखया तोकिएको थियो ।
चालु आवमै बेस राख्न सुरू गरिने
बुटवल–दाउन्ने र दाउन्ने–गैँडाकोट गरी दुई खण्डमा विभाजन गरिएको सडकको कुल लम्बाई ११३ किलोमिटर छ । दाउन्ने–गैँडाकोट खण्डमा हालसम्म ११ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख दिष्टिले बताए । कुल ६५ किलोमिटर रहेको उक्त खण्डमा चालु आवभित्र १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।
उनले ६ लेनको बनाउनु पर्ने ठाउँमा रिलोकेसन गरेर काम गर्नुपर्ने भएकाले केही समस्या सृजना भएको बताए । यस्तै बुटवल–दाउन्ने खण्डमा चालु आवमै बेस तथा सब बेसको काम समेत सुरू गरिने आयोजना प्रमुख शाक्यले बताए ।
२०७५ चैतमा चाइना स्टेट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । उक्त आयोजनाको म्याद सन् २०२२ अगष्टमा सकिदैछ । ठेकेदार कम्पनीले निर्माण पुरा गर्न थप २ वर्षका लागि म्याद थप गर्न माग गरेको छ ।
ब्रिटिश सरकारले २०२८ सालमा बनाइदिएको दुई लेनको यो सडक अहिले चार लेन बन्न लागेको हो । यो सडकका लागि लाग्ने करिब १७ अर्ब रुपैयाँ लागतमध्ये एशियाली विकास बैंकले ८५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ ।