काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी बनाउनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरको सुरबाना जुरोङ समूह एसजे अन्तर्गतको एसएमईसी इन्टरनेशनल प्रालि बीच समझदारी भएको छ ।
सम्झौतापत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् । निफ्राले सम्झौता गरेको सिंगापुरको सुरबाना जुरोङ समूह सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म हो।
समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ ।
निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ । त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ ।
पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
यसै कार्यको लागी मार्केट स्टडी सम्बन्धि कार्य गर्न निफ्राले अमेरिका स्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आव कोआठ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।
स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।
विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो । तेह्र वडामा विभाजित नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।