काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी तिर्न बाँकी रकम झन्डै २५ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० ओटा निर्जीवन बीमा कम्पनी मध्ये (नेशनल इन्स्योरेन्स र ओरियन्टल बाहेकको) १८ वटाको दाबी भुक्तानी रकम २४ अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।
बीमा कम्पनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विरण अनुसार निर्जीवन बीमा कम्पनीको बाँकी दाबी भुक्तानी संख्या १ लाख ५५ हजार दाबी ११८ पुगेको छ ।
निर्जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानी बाँकी राखेर नाफा देखाएको भन्दै आलोचना समेत भएको छ । कम्पनीहरूले ठूलो रकम दाबी भुक्तानी तिर्न बाँकी हुँदाहुँदै चालु वर्षको ६ महिनामा करिब २ अर्ब खुद नाफा देखाएका छन् ।
जोखिम बहनका लागी बीमा गरिने भए पनि समयमै क्षतिपूर्ति दिन बीमा कम्पनीहरूले आलटाल गर्दा सेवाग्रही समस्यामा पर्ने गरेका छन् । यसले एकातिर बीमा प्रतिको विश्वनियता घट्दै गएको छ भने अर्कोतर्फ कम्पनीहरू गैरजिम्मेवार बनेको देखाउँछ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पैडेलले बीमा कम्पनीको तिर्न बाँकी दाबी भुक्तानी र नाफाबारे अध्ययन गरिरहेको बताए । ‘बीमा कम्पनीहरुले ठूलो रकम दाबी भुक्तानी गर्न बाँकी देखिएको छ । यसमा कोरोना बीमाको रकम जोडिँदा पनि दाबी भुक्तानी रकम धेरै देखिएको हुनसक्छ । दाबी भुक्तानी बाँकी र नाफाबारे अध्ययन गरिरहेका छौं,’ उनले भने ।
७१ प्रतिशतले बढ्यो दाबी भुक्तानी
एक वर्षको अवधिमा बीमा कम्पनीहरूको दाबी भुक्तानी बाँकी रकम ७१.७४ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्म खुद दाबी भुक्तानी रकम १४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा चालु वर्षको समीक्षा अवधिसम्म आइपुग्दा १० अर्ब ३२ करोड ६५ लाख रुपैयाँले बढेर पुगेको २४ अर्ब ७१ करोड पुगेको हो ।
यस अवधिमा दाबी भुक्तानी संख्या पनि बढेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीहरूको खुद दाबी भुक्तानी बाँकी रकम पुगेको छ । गत पुससम्म कम्पनीहरूको कुल बाँकी दाबी भुक्तानी संख्या ७९ हजार ६७३ रहेकोमा एक वर्षको अवधिमा बढेर १ लाख ५५ हजार ११८ पुगेको हो ।
कुन कम्पनीले कति रकम दाबी भुक्तानी गर्न बाँकी ?
चालु वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी तिर्न बाँकी छ । यस कम्पनीको ३ हजार दाबी भुक्तानी संख्याको ३ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । कम्पनीले उक्त अवधिमा १५ करोड रुपयाँ खुद नाफा छुट्टाएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सल १५ हजार ३४६ कुल दाबीको २ अर्ब ६० करोड रुपैयाँ बाँकी रहेको छ । यस कम्पनीले चालु वर्षको समीक्षा अवधिमा २४ करोड ३० लाख रुपैयाँ खुद नाफा छुट्टयाएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको ११ हजार ४९८ दाबी भुक्तानी बाँकी संख्याको २ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले चालु वर्षको पुस मसानतसम्म खुद नाफा १७ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनीको ९ हजार दाबी भुक्तानी संख्याको २ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको छ । समीक्षा अवधिमा कम्पनीले १५ करोड खुद नाफा देखाएको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १ अर्ब ८९ करोड, एनआइजीको १ अर्ब ७३ करोड, लुम्बिनीको १ अर्ब ६७ करोड, युनाइटेडको १ अर्ब ६० करोड, नेपाल इन्स्योरेन्स १ अर्ब ३२ करोड,आइएमई जेनरलको १ अर्ब २० करोड, एभरेष्टको १ अर्ब २६ करोड, अजोडको १ अर्ब १६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको छ ।
सबैभन्दा कम राष्ट्र्रिय बीमा कम्पनीको २३ करोड रुपैयाँ बाँकी दाबी भुक्तानी रहेको छ । सानिमा जनरलको ४८ करोड, पु्रडेन्सीयलको ४७ करोड, प्रभुको ५४ करोड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७७ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको छ ।
कुनले कति कमाए नाफा ?
चालु वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले खुद नाफा १ अर्ब ९५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीको नाफा घटेको छ । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीले आर्जन गरेको खुद नाफामा ११ करोड रुपैयाँले गिरावट आएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीहरूले २ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका थिए ।
कम्पनीहरूको दाबी भुक्तानी एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँले बढेको छ । चालु वर्षको मंसिर मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा अजोड इन्स्योरेन्स रहेको छ । यस कम्पनीले समीक्षा अवधिमा ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
शिखर इन्स्योरेन्सले २४ करोड ३० लाख खुद नाफा राखेको छ । यसैगरी सगरमाथा इन्स्योरेन्सले १७ करोड, राष्ट्र्रिय बीमा कम्पनीले १६ करोड, प्रिमियम इन्स्योरेन्सले १५ करोड ५६ लाख, नेको इन्स्योरेन्सले १५ करोड,शिद्धार्थले १४ करोड र आइएमइ जेनरलले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सबैभन्दा कम नाफा कमाउनेमा हिमालयन जनरल इन्स्योरेन्सले ५ करोड २२ लाख रुपैयाँ कमाएको छ । सानिमा जनरलले ५ करोड ८० लाख, युनाइटेडले ६ करोड,प्रुडेन्सीयलले ७ करोड,प्रभुले ९ करोड, एभरेष्टले ६ करोड, जेनरल इन्स्योरेन्सले ५ करोड, लुम्बिनी, नेपाल र एनएलजी कम्पनीले १० करोड बढी रुपैयाँ नाफा छ्ट्टाएका छन् ।