दूध उत्पादन कम हुँदा डेरी प्रोडक्टमा विदेशकै भर, एशोसिएसन भन्छ-‘मिल्क होलिडे मनाउने दिन गए’

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । तर, हरेक उपभोग्य वस्तु विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । तरकारी, फलफूल, माछामासु, दाल, चामल लगायत खाद्यान्न आयात हुँदै आएको छ । जसबापत वर्षेनी खर्बौं रुपैयाँ बाहिरिने गरेको छ ।

 

सरकारले नेपाललाई दूधमा आत्मनिर्भर भनेर घोषणा गरेको छ । तर, दूध उत्पादन कम हुने भएकाले दुग्धजन्य वस्तु भने विदेशबाटै आयात हुँदै आएको छ । डेरी प्रोडक्टहरु बोटल दूध, चिज, पनिर, खुवा, बटर पाउडर दूध, दुग्धजन्य मिठाइ आयात हुँदै आएको छ ।

 

सरकारले दूध आयातमा रोक लगाए पनि अन्य डेरी प्रोडक्ट भने आयात भइरहेको छ । नेपालमा आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था नहुँदा डेरीजन्य प्रोडक्ट आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

 

नेपालमा विगतमा वार्षिक करिब ४ अर्ब बढीको डेरीजन्य प्रोडक्ट आयात हुँदै आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यद्यपि, गत वर्ष भने २ अर्बको मात्र डेरी प्रोडक्ट भित्रिएको छ ।

 

आयात दर घटेको भए पनि जुन रुपमा घट्न पर्ने हो, त्यो रुपमा नघटेको नेपाल डेरी एशोसिएसनले बताएको छ । ‘डेरी प्रोडक्ट आयात दर घटेको त छ, तर सरकारले दूध आयातमा मात्र रोक लगाएको छ, यदि रोक्ने नै हो भने सबै डेरी प्रोडक्ट आयातमा रोक लगाउनु पर्छ, जसले आत्मनिर्भर बन्न बल पुग्छ,’ नेपाल डेरी एसोशिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा भन्छन् ।

 

माग अनुसार हुँदैन उत्पादन

 

मुलुकलाई दूधमा आत्मनिर्भर घोषणा गरिए पनि अझै माग अनुसार दूध उत्पादन हुन सकेको छैन । नेपालमा दैनिक ७८ लाख लिटर दूध माग हुने गरे पनि ६२ लाख लिटर मात्र उत्पादन हुँदै आएको अध्यक्ष सापकोटाले बताए।  उनका अनुसार दैनिक मागभन्दा झन्डै  १६ लाख लिटर दूध अपुग हुन्छ ।

 

नेपाल दूधमा ८० प्रतिशत मात्र आत्मनिर्भर भएको नेपाल डेरी एशोसिएसनले जनाएको छ । ‘नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । मागभन्दा झन्डै १८ लाख लिटर नपुग हुन्छ । दुग्धजन्य वस्तु निर्माणका लागि दूध अपुग भएपछि विदेशबाट डेरीजन्य प्रोडक्ट आयात हुँदै आएको छ,’ अध्यक्ष सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार उत्पादन हुने आधा मात्र दूध बजारमा आउने गरेको छ । ‘दैनिक उत्पादन हुने ६२ लाख लिटर दूधमध्ये ५० प्रतिशत उत्पादक आफैंले प्रयोग गर्छन । बाँकी ५० प्रतिशतको पनि ३१ प्रतिशत मात्रै दूध बजारमा औपचारिक क्षेत्र (विभिन्न डेरी उद्योगमा आउने गरेको छ, झन्डै ७० प्रतिशत अनौपचारिक क्षेत्रमा (मिडल म्यानले घरघर वा होटल,रेष्टुरेन्ट सम्म पुर्याउने) प्रयोग हुने गरेको छ,’ उनले भने ।

 

सापकोटाका अनुसार नेपालमा दैनिक उत्पादन हुने दूध मध्ये ८५ प्रतिशत दूध लिक्वीड दूधमा जान्छ भने बाँकी १५ प्रतिशतको दूधको मात्र अन्य (दही, खुवा, मिठाई लगाएत) उत्पादन गरिन्छ ।

 

‘किसानले दूध होली डे मनाउने अवस्था अन्त्य भइसक्यो’

 

पछिल्लो समय नेपालमा धुलो दूध आयात गर्न सरकारले रोक लगाए पनि पनि बजारमा दूधको अभाव नहुनु र आन्तरिक उत्पादन समेत पर्याप्त नभएकाले भने कुनै दोस्रो बाटो भएर दूध आयात भएको छ कि भन्ने प्रश्न समेत खडा भएको छ ।

 

तर यता एशोसिएसनले भने नेपालमा बढी दूध उत्पादन हुने (भदौदेखि माघ सम्म)महिनामा बजारमा दूधको माग कम हुने भएकाले त्यो समयको दूध पाउडर बनाएर राख्ने र कम उत्पादन हुने(फागुनदेखि साउनसम्म) समयमा प्रयोग गर्दै आएको बताएको छ । कम उत्पादन हुने समयमा ३० देखि ३५ प्रतिशत उत्पादन घट्ने गरेको एशोसिएसनको भनाइ छ ।

 

‘विगतमा किसानले उत्पादन गरेको दूध विक्री नभएर दूध होली डे मनाउने गरेका थिए, तर पछिल्लो समय हामी आफैं घरघर पुगेको दूध संकलन गर्ने गरेका छौं, जसले गर्दा अब किसानले दूध होली डे मनाउने अवस्थाको अन्त्य भएको,’ सापकोटाले भने ।

 

किसानलाई मर्का नपरोस् भनेर बढी उत्पादन भएको स्थानमा गएर समेत खरिद गरेर धुलो दूध बनाउँदै आएको र कम उत्पादन हुने समयमा प्रयोग गर्दै आएको उनको भनाइ छ ।

 

कोभिडले झनै घटायो उत्पादन्

 

एशोसिएसनले कोभिडको कारण दूध बढी उत्पादन हुने सिजनमा पनि २० देखि २५ प्रतिशत उत्पादन घटेको बताएको छ । ‘कोभिडको कारण किसानले उत्पादन गरेको दूध बजारसम्म लान सक्ने अवस्था रहेन्, बजार सबै ठप्प थियो, जसले गर्दा दूध बढी दिने गाईभैंसीलाई सन्तुलित आहार घटाइयो, जसले गर्दा उत्पादन घट्यो,’ एशोसिएसनले बताएको छ ।

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

बुद्ध एयरले अब पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने Read Next

बुद्ध एयरले अब पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने