काठमाडौं । दुग्धजन्य पदार्थको मूल्य वृद्धि भएको छ । दूधको मूल्य वृद्धि भएसँगै दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ, रसवरी लगायत दूधजन्य पदार्थको मूल्य पनि वृद्धि भएको नेपाल डेरी एसोसिएसनले जानकारी दिएको छ ।
‘दूधको मूल्य वृद्धि भएसँगै बजारमा दुग्धजन्य सबै पदार्थको मूल्य वृद्धि भएको, दूध कै मूल्य वृद्धि भएपछि, दूधबाट बन्ने अन्य पदार्थको मूल्य बढ्नु सामान्य हो,’ डेरी एसोसिएसनका अध्यक्ष राधा कृष्ण सापकोटाले चाणक्य पोष्टसँग भने ।
डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाए सँगै दूधजन्य पदार्थमा प्रतिकेजी लिटर ५ रुपैयाँदेखि १०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
एसोसिएसनले दिएको जानकारी अनुसार अब पभोक्ताले नयाँ मूल्यअनुसार एक किलो पनिरको ८३० रूपैयाँ तिर्नुपर्छ । यसअघि पनिर किलोको ७५० रूपैयाँ थियो ।
त्यसैगरी,बटर(नौनी) को भाउ पनि वृद्धि भएको छ । पहिले किलोको ८५० पर्ने नौनीको मूल्य बढेर ९२५ रुपैयाँ पुगेको छ । त्यस्तै घ्यू किलोको एक हजार २० रूपैयाँबाट बढेर १ हजार १०० पुगेको छ ।
दूधको मूल्यवृद्धि भएसँगै डीडीसीले दही, पनीर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ, रसवरी लगायत दूधजन्य पदार्थको मूल्य पनि बढाउने तयारी गरेको छ । सरकारी स्वामित्वको भएकाले निजीभन्दा डिडिसीको उत्पादन सस्तो हुने बताइएको छ ।
माघ १७ को मन्त्रिपरिषद बैठकले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा कच्चा दूधको मूल्य ५६ रूपैयाँ ४ पैसा निर्धारण गरेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरूले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए ।
कृषि तथा पशुपछी विकास मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएपछि डीडीसीले उपभोक्ता मूल्य बढाएको हो।
सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्ता मूल्य भने १४ रूपैयाँसम्म वृद्धि गरेको छ । किसानहरूलाई भने ३ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ भएको दूधको मूल्य ५३.४५ बाट वृद्धि गरी ६२ रूपैयाँ पुगेको छ ।
