काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तार अन्तिम चरणमा पुगेको छ । तोकिएको ठेक्का अवधिभन्दा झन्डै ७ महिनापछि सडक विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर जडीबुटी सडकमा थप गरिएको ३ लेन सडकको कालोपत्र सम्पन्न भएको छ । अब फुटपाथको काम मात्र बाँकी रहेको र सो काम पनि फागुनभित्रै सकिने ठेकेदार तुन्दी सुसन जेभी निर्माण कम्पनीले जनाएको छ । सुसन जेभीले यस सडक निर्माण गर्न ७ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
यसअघि ४ लेनको रहेको उक्त सडकमा थप ३ लेन विस्तार गरी ७ लेनको बनाइएको हो । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तरतर्फ) एक लेन र दाहिने (दक्षिणतर्फ) दुई लेन थप गरिएको हो । दुवैतर्फ सडक कालोपत्र सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
गत असार मसान्तसम्म सक्नु पर्ने भए पनि कोरोना र वर्षाका कारण सडक विस्तार ७ महिना पछि धकेलिएको बताइएको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी चैतसम्म उक्त काम पूरा गर्नुपर्ने छ ।
दक्षिणतर्फको भागमा कुनै समस्या नरहे पनि उत्तरतर्फ (पेप्सीकोलातर्फ जाने) सडकमा एउटा घर हटाउन बाँकी रहेको छ । मुआब्जा विवादका कारण उक्त घर हटाउन नसक्दा त्यहाँ सडक विस्तार हुन बाँकी छ ।
काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ । खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ । अरनिको, मध्यपहाडी, बीपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौँ जाम हुने गरेको थियो । सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजरुपमा हुने अपेक्षा गरिएको छ ।
सडक निर्माण सम्पन्न भएसँगै अब भक्तपुरबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जाने सवारीसाधन सीधै जान पाउनेछन् । जाममा फस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीनरूपमा यसको समाधान ‘फ्लाइओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरिसकेको छ ।