काठमाडौं । चिया विश्वमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । नेपालीहरूका लागि चिया केबल एउटा पेय पदार्थ मात्र नभइ संस्कार र बाहना समेत हो । पाहुनाको स्वागतदेखि दुःख, सुख जस्तो परिस्थतिमा पनि पिउने बाहना बन्ने गरेको छ ।
पछिल्लो समय बजारमा अनेकथरी चिया प्रचलनमा आएका छन् । बजारमा साधरणदेखि मसला, मड्का, तन्दुरी, खुवा चिया, चक्लेट टी, ग्रीन टी लगायत चिया उपलब्ध छन् । तीनै चियाको भीडमा अर्को एउटा चिया थपिएको छ । त्यो हो डिजी तन्दुरी चिया ।
संखुवासभाका दाहाल दाजुभाइ (प्रविन र सन्देश) ले बजारमा नयाँ स्वादको डीजी तन्दुरी चिया ल्याएका छन् । बजारमा आफ्नै छुट्टै स्वादको चिया ल्याएको उनीहरु बताउँछन् ।

तन्दुरी चिया पनि अरू चिया जस्तै सामान्य चिया नै हो । तर दाहाल दाजुभाइ यसको रेसिपी फरक भएको बताउँछन् । भन्छन्, ‘हामी ह्वाइट सुगर प्रयोग गर्दैनौं, चिया मसलाको पनि आफ्नै किसिमको प्याट्रन बनाएका छौं । बजारमा पाइने धेरै प्रकारका मसलाको समिश्रणमा हामीले मसला बनाएका छौं, यही हाम्रो विशेषता हो,’ प्रविनले भने । डीजी तन्दुरीमा गएको दुई मिनेटमै माटाको पालामा चिया पिउन पाइन्छ ।
भारतको अनुभव र स्वदेशमै रोजगारी बन्ने सोचले जन्मेको ‘डीजी तन्दुरी टी’
पछिल्लो समय दैनिक हजारौं युवाहरु विदेशिरहेको र आफू पनि रोजगारीमा भारत गएकाले स्वदेशमै स्वरोजगारी बन्नुपर्छ भन्ने सोचले डीजी तन्दुरी चिया ल्याएको प्रविन बताउँछन् ।
विदेशमा गर्ने दुःख नेपालमै गरे त्योभन्दा राम्रो गर्न सकिन्छ भन्ने उदाहरण बन्न पनि आफूले चिया पसल खोलेको उनी बताउँछन् । सन् २००६ मा कलकत्ता जादाँ माटोको ससाना पालामा चिया खाएको अनुभवका आधारमा हामीले पनि केही गर्न सक्छौं भन्ने लागेर अघि बढेको उनले बताए ।
२०७६ सालको अन्तिमतिर सुरू भएको तन्दुरी चिया हाल कर्पोरेट व्यवसायमा रुपान्तरण भइसकेको छ । कुनै पनि व्यवसायमा जम्न नयाँ सोच र योजना हुनुपर्ने उनी बताउँछन् । आफूहरु पनि चियाको भीडमा केही फरक स्वादका साथ आएको उनले बताए । ‘हामी युवा मिलेर केही नयाँ सोच सहित एकले अर्काको एड्भान्टेजेज् लिनुपर्छ भन्ने सोचले तन्दुरी चिया जन्मिएको हो, र हाम्रो सुरूआत तन्दुरी चियाबाट भयो,’ प्रविन भने ।

फरक स्वाद हुँदा प्रतिस्पर्धा गर्न गाह्रो नहुने उनको बुझाइ रहेको छ । ‘हामी तन्दुरी चियालाई अन्य कम्पिटेटरसँग म्याचिङ्ग नहुने र फरक प्रस्तुती दिने सोच सहित आएका छौं, छिटो, सरितो र पैसा तिर्दा पनि सन्तुष्टि प्रदान हुनेगरी सेवा दिएका छौं, डीजी तन्दुरी एक विशेष चिया हो,’ दाहालले भन्छन् ।
हाल दैनिक ५०० कप चिया विक्री हुँदै आएको छ । ‘हाल दैनिक ५०० कप चिया विक्री हुने गरेको छ, तर हाम्रो लक्ष्य भनेको दैनिक हजार देखि १५ सय कपसम्म चिया विक्री गर्ने हो,’ प्रविनले भने ।
आफूले बनाएको बिजनेश भेन्चरमा जो कोहिले बुझेर मेहनत गर्न चाहे आफ्नो स्थान जमाउन सक्ने उनले बताए । आफू व्यवसायको सुरूआती चरणमै भएको बताउने उनी काठमाडौं भित्र नै हरेक २ किलो मिटरमा एक आउटलेट निर्माण गर्न सकिने बताउँछन् ।
लगानी २ लाखबाट ७० लाख पुग्यो
सुरूआतमा थोरै लगानीबाट थालिएको तन्दुरी चियामा हाल ७० लाख लगानी भइसकेको छ । ‘हामीले सुरूआतमा २ देखि ४ लाखसम्म लगानी गरेर अघि बढेका थियो, हाल लगानी ७० लाख पुगेको छ,’ उनले भने ।

लगानी विस्तार भएसँगै व्यापारमा समेत बढोत्तरी भएको प्रविन बताउँछन् । सुरूआतमा दैनिक २ देखि ४ हजारसम्मको व्यापार हुने गरेकोमा अहिले दैनिक ५० हजारसम्म व्यपार हुने गरेको छ ।
स्वाद अनुसार मूल्य
तन्दुरी चियाका आफ्ना छुट्टै पारखी भएको उनको भनाइ छ । चियाका पारखीले फरक फरक स्वादको चिया मन पराउने भएकाले हाल तीन प्रकारको चिया उपलब्ध भएको प्रविनले बताए ।
डीजी तन्दुरीमा तन्दुरी चिया, कटिङ चिया र सुलेमनी गरी ३ फरक स्वादका चिया उपलब्ध रहेको छ । तन्दुरी चिया प्रतिकप ५० रुपैयाँ, कटिङ् चिया प्रतिकप ३० र सुलेमनी चिया प्रतिकप २० रुपैयाँमा खान पाइन्छ । सबै चियाका आ–आफ्नै पारखी रहेको उनको भनाइ छ ।
तीव वटा ब्रान्च, सबैमा एउटै स्वादको चिया
छोटो समयमै तन्दुरी चियाको तीन वटा ब्रान्च संचालनमा आइसकेको छ । सुरूआतमा काठमाडौंको नयाँ बजारस्थित सिद्धार्थ बैंक भएको बिल्डिङ्बाट सुरू भएको उनीहरूको व्यवसाय अहिले लैनचौर (स्काउटको बिल्डिङ्सँगै) र डिल्लीबजारबाट पुतलीसडक जाने ओरालो विस्तार भएको छ ।

छोटो समयमै तीन वटा ब्राण्च संचालन गर्न सक्नु आफूहरुको मेहनतको परिणाम भएको उनी बताउँछन् । यी सबै ब्रान्चहरूमा एउटै मूल्य र स्वादमा तन्दुरी चिया पिउन सकिन्छ । तीन वटै ब्रान्च गरेर आफू बाहेक १६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको प्रविन बताउँछन् । ‘खास हाम्रो क्षमता यति नै भन्ने छैन, हामीले ठूला ठूला क्याटरिङ् अर्डर समेत लिने गरेको,’ उनले भने ।
विदेशमा ब्रान्ड खोल्ने सपना
छोटो समयमै व्यवसायिक सफलता हात पार्न सफल भएपछि दाहाल दाजुभाइ यसलाई विदेशमा समेत ब्राण्ड खोल्ने सपना देखेका छन् । ‘हामीले हालसम्म काठमाडौंमै तीन ठाउँमा ब्रान्च खोली सकेका छौं, आगामी दिनमा यसलाई नेपालमा मात्र नभएर विदेशमा समेत लाने सोच बनाएका छौं । नेपालबाट पनि विदेशमा ब्राण्ड आएछ भन्ने बनाउन मन छ, कति विदेशी ब्राण्डको पछि लाग्ने हामी,’ प्रविन भन्छन् ।
तन्दुरी चिया व्यवसायबाटै धेरै युवाहरूलाई आफ्नै देशमा रोजगारी प्रदान गर्ने योजना रहेको उनको भनाइ छ ।
चियाका साथै पाइन्छ यी परिकार
डीजी तन्दुरी टीमा चियाको साथै छिटो बनाउन सकिने विभिन्न परिकारका खानाको स्वाद लिन पाइन्छ । विषेशतः तन्दुरी चियासँगै बिरयानी पनि आफूले महत्व दिएको प्रविनले बताए ।

जहाँ स्यान्क्समा पोट्याटो वेजेज्, स्पाइसी विङ्स, चिकेन विङ्स, फिस फिंगर, स्याण्डविज, ससेज, नगेड्स, चियासँग खान बन मखन, बन खुवा, बिरयानी, एपकी मिल, बटर बिरयानी, ह्याप्पी मिल, अमेरिकन चप्सी, लाछा परौठा लगायतका परिकार उपलब्ध रहेका छन् ।