काठमाडौं । वहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका छन् ।
ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् । मोदीले दिल्लीबाट स्वीच थिचेर डिजेल पठाएका हुन् भने ओलीले सिंहदरवारबाट स्वीच थिचेर ‘रिसिभ’ गरेका हुन् । उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् ।
उद्घाटनपछि अमलेखगन्जमा झरेको तेल इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गरेका थिए।

नेपाल भारत पेट्रोलियम पाइपलाइन ३० महिनामा सक्ने लक्ष्यकासाथ सुरु गरिएको थियो । तर निर्धारित समयभन्दा एक वर्षअघि १८ महिनामै आयोजना पूरा भएको हो ।
पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको छ । यो पाइपलाईनको क्षमता प्रतिघण्टा २९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने रहेको छ ।

कम्प्युटरकै माध्यमबाट पाइपलाईन खुल्ला र बन्द गर्नका लागि कन्ट्रोल रुम अमलेखगञ्जमा बनाइएको छ । पाइपलाईनको क्षमता दैनिक २४ घण्टानै चल्न सक्ने भएपनि अहिले भने पूर्ण क्षमतामा चलाइएको छैन ।
प्रतिघण्टा २ सय ९४ किलोलिटर तेल ल्याउन सकिने पाइपबाट आएको तेल सोहि दिनदेखि नै बजारमा पठाउन सकिने छ ।
पाइपलाइनबाट आउने तेल शुरुमा नेपालमा प्रमुख सहर पोखरा, काठमाडौं र अमलेखगञ्जमा पठाइने छ । अमलेखगञ्ज डिपोमा पाइपलाईन बाट आएको तेल भण्डारणको लागि ४ वटा ट्याङकी पनि राखिएका छन् । २ वटा ट्याङकीको क्षमता ४१ सय किलोलिटर रहेको छ भने बाँकी दुईको ३९ सय किलोलिटर रहेको छ ।

हाल यी चारवटै ट्याङकीमा तेल भरेर राखिएका छन् । आज मंगलबारबाट नियमित रुपमा डिजेल आउने छ भने पेट्रोल ल्याउने तयारी भइरहेको जनाइएको छ ।
पाइपलाईन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको हो । पाइपलाईनको लम्बाई ६९.५ किलोमिटर रहेको छ ।
पाइपलाईनको हिस्सा भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्छ । परियोजनामा कुल २ अर्ब ७५ करोड रुपैंयाँ खर्च भएको छ ।
