काठमाडौं । बीमा क्षेत्रको नियमकारी निकाय बीमा समितिले लघुबीमा (माइक्रो इन्स्योरेन्स) लाइसेन्स दिने तयारी गरेको छ । समितिले बीमाको दाएरा बढाउन सातवटै प्रदेशमा लघुबीमा कम्पनीको लागि लाइसेन्स दिने तयारी थालेको हो ।
जीवन र निर्जीवन गरी छुट्टाछुट्टै लघुबीमा कम्पनीका लागि लाइसेन्स दिने समितिको तयारी छ । यद्यपि, समितिले लघुबीमा कम्पनीको लाइसेन्स दिने बारे छलफल अघि बढाए पनि दिने नदिने टुंगो भने लगाएको छैन ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमा कम्पनीकोे लाइसेन्स दिने निर्णय नगरेपनि समितिले अध्ययन गरिरहेको बताए । ‘एकातिर इन्स्योरेन्सको दाएरा बढ्ने र अर्कोतिर थोरै प्रिमियमले बीमितको आर्थिक क्षतिपूर्ति बहन हुने उद्देश्यका साथ लघुबीमा कम्पनीको महसुस गरिएको हो,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यसैले माइक्रो इन्स्योरेन्स कम्पनीहरुको लाइसेन्स खुलाउने तयारी गरिरहेका छौँ । यद्यपि, माथिल्लो तहमा छलफल भने भएको छैन् ।’
बीमाको दाएरा बढाउन लघुबीमा कम्पनीे महसुस गरिएको उनले बताए । लघुबीमा कम्पनीको चुक्ता पूँजी कति हुने भन्ने पनि समितिले कुनै निर्णय गरेको छैन् । अन्य देशको अभ्यास हेर्दा ६० देखि ७० करोडसम्म बनाउँदा ठीकै हुने समितिका अधिकारीहरुको भनाइ छ ।
ग्रामीण क्षेत्रका साना व्यवसायहरु लक्षित गरेर लघुबीमा कम्पनीको आवश्यकता महसुस गरिएको छ । प्राकृतिक विपत्ति तथा विभिन्न कारणले हुने क्षति कम गर्न यस्ता कम्पनीको स्थापना गर्न लागिएको हो ।
‘हाम्रा ठूला बीमा कम्पनीहरु सहरी क्षेत्रमा मात्रै केन्द्रीत भए । बीमाको दाएरा बढाउने आधार भनेकै ग्रामीण तथा देशका विभिन्न भागमा जानु हो, त्यसैले सबै पालिकाहरुमा स-साना बीमाहरु पनि गर्न सकिने भएकाले माइक्रो इन्स्योरेन्स कम्पनी आवश्यक छ,’ उनी भन्छन् ।
लघुबीमा कम्पनीका लागि कामको दाएरा तोकिदिने र उनीहरुले प्रदेशमै गएर काम गनुपर्ने व्यवस्था समितिले गर्ने उनले बताए । ‘सात वटै प्रदेशमा जीवन र निर्जिवन बीमा कम्पनीको छुट्टाछुट्टै लाइसेन्स दिनुपर्छ भन्ने माइन्ड मेकअप हो, तर माथिल्लो तहमा निर्णय भएकोे छैन्,’ उनले भने ।
स्थानीय तहमा हुनसक्ने सम्भावित प्राकृतिक विपत्तिको क्षति कम गर्न भएपनि लघुबीमाले मद्दत पुग्ने समितिको सोचाइ छ । स्थानीय सरकारहरुले पनि अनुदानमा बीमाको व्यवस्था गरे त्यसले सबैलाई सहज हुने र दायरा फराकिलो बन्दै जाने समितिको भनाइ छ ।
३ कम्पनीको आवेदन
लघुबीमा कम्पनीको लाइसेनसका लागि तीन कम्पनीले समितिमा आवेदन समेत दिइसकेका छन् । अभियान निर्जीवन लघुबीमा कम्पनी, माछापुच्छ्र्र्रे माइक्रो इन्स्योरेन्स कम्पनी र हव माइक्रो इन्स्योरेन्स कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
अहिले नै समितिले कति बीमा कम्पनीलाई लाइसेन्स दिने भन्ने निर्णय भने नगरेको पैडेलको भनाइ छ । हाल नेपालमा कुल जनसंख्याको वैदेशिक रोजगार बीमा सहित २७ प्रतिशत बीमाको पहुँचमा पुगेको छ ।
नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा जीवन बीमा र २ पुनर्बीमा कम्पनी गरेर कुल ४१ बीमा कम्पनीहरु संचालनमा रहेका छन् ।