काठमाडौं । विश्वमा सूचना प्रविधिको विकासले मानिसको दैनिक जीवन यापनका हरेक क्रियाकलापमा सुविधा र सहजता ल्याएको छ । नयाँ टेक्नोलोजीको विकासले अन्तरिक्षमा गाडी पठाउनेदेखि मानव बस्ती बसाउनेसम्म तयारी भइरहेको छ । सूचना प्रविधिको विकासले मानिसको जीवन शैली नै बदलेको छ भने डिजिटालाइजेशन समेत गर्दै लगेको छ ।
सूचना प्रविधिको विकासले अहिले विश्वलाई ग्लोबल भिलेजमा रुपान्तरित गरिसकेको छ । आगामी दिनमा अझै संसारलाई कति साँघुर्याउने हो त्यो हेर्न बाँकी छ । अहिले हरेक क्षेत्रमा भएको प्रविधिको विकासले भौतिक वस्तुहरुलाई भर्चुअल (डिजिटल) बनाउँदै लगेको छ ।
प्रविधिको विकाससँगै भर्चुअल दुनियाँमा गएकोमध्ये एक हो बैंक तथा वित्तीय क्षेत्र । कुनै बेला कागजी ढड्डाबाट सुरू भएको बैंकिङ कारोबार अहिले पूर्ण डिजिटलाइजेसन्को चरणउन्मुख भइरहेको छ । त्यसै पनि बैंकिङ प्रणालीमा भएको कागजी मुद्रा हट्ने क्रम (क्यास लेस्) को बढ्दै गएको छ । युरोप, अमेरिकी महादेशका केही देशहरुले डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेको छन् भने केही देश ल्याउने तयारीमा छन् ।
छिमेकी मुलुक चीनले पनि डिजिटल करेन्सीको परीक्षण गरिरहेको छ भने भारतले पनि सन् २०२२ को अन्त्यसम्म ल्याइसक्ने घोषणा गरेको छ । यस्तै, अन्य विभिन्न देशका केन्द्रीय बैंकले पनि डिजिटल मुद्रा प्रयोगमा ल्याउने बारे योजना अघि सारेका छन् ।
यसैबीच, पछिल्लो १ दशक यता विश्वभर भर्चुअल मुद्राको कारोबार बढ्दो क्रममा रहेको छ । त्यसकै एक उदाहरण हो क्रिप्टो करेन्सी । निकै छोटो समयमा विश्वभरी फैलिएको क्रिप्टोकरेन्सीको कारोबारले विश्वको ध्यान तानेको छ । कुनै बैंक वा सरकारको नियमन विना डिसेन्ट्रलाइज रुपमा चल्ने यस्तो मुद्राले विश्व अर्थतन्त्रलाई नै चुनौती दिइरहेको छ ।
सन् २००९ मा सातोशी नाकामोतो नामक व्यक्तिले बिट्क्वाइनको आविष्कार गरेर प्रयोगमा लयाएको क्रिप्टोकरेन्सी अहिले विश्वका अधिकांशदेशमा बहसको विषय बनेको छ । हालसम्म विश्वमा हजारौँ क्रिप्टोकरेन्सीहरु प्रचलनमा आइसकेका छन् । अमेरिकी मुलुक एल साल्भाडोरले आधिकारिक मुद्राको मान्यता नै दिइसकेको छ ।
क्रिप्टोकरेन्सीको कारोबारलाई कतिपय देशले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएका छन् भने कतिपयले नियमनको दाएरामा ल्याएका छन् । नेपालमा क्रिप्टोकरेन्सीको कारोबारले कानुनी मान्यता पाएको छैन् । तर, अवैध रुपमा क्रिप्टोको कारोबारमा संलग्न रहेको आरोपमा बेलाबेलामा कारोबारीहरु पक्राउ परेका छन् । पछिल्लो समय नेपालमा पनि क्रिप्टोकरेन्सीको कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले त्यस्ता कारोबारका संलग्न रहे जोकोहीलाई काबाही गर्ने चेतावनी दिँदै आएको छ ।
एसीयाकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भारतले यही साताको बजेट वक्तव्यमार्फत क्रिप्टोकरेन्सीको कारोबारलाई राजस्वको दायरामा ल्याएको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले डिजिटल सम्पत्तिहरुबाट हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेसँगै क्रिप्टोको कारोबार पनि करको दायरामा आएको हो ।
सोझै क्रिप्टोकरेन्सीको कारोबार अनुमति नदिए पनि भारतले घुमाउरो तरिकाले भने कारोबार गर्न सक्ने ठाउँ दिएको हो । भारतले यसै साता आफ्नो रुपैयाँको डिजीटल स्वरुप प्रयोगमा ल्याउने बताएको छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएको चीनले क्रिप्टोकरेन्सीको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, उसले केही समयमै आफ्नो युआनलाई डिजीटल प्ल्याटफर्ममा ल्याउने जनाएको छ । यसैगरी, इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशलगायत देशहरूमा क्रिप्टोकरेन्सी कारोबारमा पूर्णरुपमा प्रतिबन्धित लगाएको छ ।
भर्चुअल मुद्राको कारोबारी बढ्दै
पछिल्लो समय विश्वभर भर्चुअल मुद्राको कारोबार गर्नेको संख्या बढ्दो छ । धेरै जसो देशमा पूर्ण प्रतिबन्ध लगाए पनि यसको कारोबार दिनदिनै बढीरहेको हो । पछिल्लो १ दशकमै क्रिप्टोकरेन्सीको मूल्य लाखौं गुणाले बढेपछि यसप्रति विश्वभरका मानिसमा आकर्षण बढेको हो । सन् २००९ मा प्रतिबिटक्वाइन ०.०६ सेन्ट रहेकोमा सन् २०२१ मा ६६ हजार डलर समेत पुगेको थियो ।
सेयर बजारमा जस्तै मूल्य घटबढ हुने भएपछि आम मानिस यसको कारोबार प्रति आकर्षित छन् । आधिकारिक तथ्यांक नभए पनि हाल विश्वभर करिब ३० करोड बढी मानिस क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको अनुमान छ ।
सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे सम्बन्धी कारोबार गर्ने संस्था ‘ट्रिपल ए’ को तथ्यांक अनुसार सन् २०२१ सम्म संसारभर ३०० मिलियन (३० करोड) बढी मानिसहरु क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेका छन् । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न कुल जनसंख्या मध्ये ७९ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेका छन् ।
ती मध्ये ३४ वर्षभन्दा कम उमेर समूहका ५८ प्रतिशत क्रिप्टोको कारोबरमा संलग्न रहेका छन् । कारोबारमा संलग्न ३६ प्रतिशत भन्दा बढीको वार्षिक आम्दानी
१ लाख अमेरिकी डलर भन्दा बढी रहेको सो संस्थाले जनाएको छ ।
कुन देशमा कतिले गर्छन् क्रिप्टोकरेन्सीको कारोबार ?
‘ट्रिपल ए’को तथ्यांक अनुसार सन् २०२१ सम्म सबैभन्दा धेरै क्रिप्टोकरेन्सीको कारोबार हुने देशमा भारत पहिलोमा छ । भारतमा १० करोडभन्दा बढी जनसंख्या क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको तथ्यांकले देखाएको छ ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने भारतपछि अमेरिकामा २ करोड ७४ लाख क्रिप्टो कारोबारमा सक्रिय रहेका छन् । नाइजेरीयामा १ करोड ३० लाख, रुसमा १ करोड ७३ लाख, युक्रेन ५५ लाख, भेतनाममा ५९ लाख र बेलायतमा ३३ लाख जनसंख्या क्रिप्टोकरेन्सीको कारोबारमा सक्रिय रहेका छन् । यसैगरी, अष्ट्रेलियामा ८ लाख ५७ हजार, नेपालमा ४ लाख २३ हजार, हङकङमा २ लाख, मलेसीयामा १ लाख मानिस क्रिप्टो कारोबारमा सक्रिय रहेका छन् ।
‘ट्रिपल ए’को तथ्यांक अनुसार नेपालमा पनि कुल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब ४ लाख २४ हजार छ ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भौतिक अस्तित्व नभएको डिजिटल (भचुर्अल) मुद्रा हो । ब्लकचेन प्रविधिमा आधारीत विकेन्द्रीकृत रूपमा संञ्चालन हुने भएकाले यसको मूल्य भचुर्अलमै तोकिएको हुन्छ ।
ब्लकचेन जस्ता प्रणालीमार्फत इन्टरनेटमा जोडिएका धेरै कम्प्युटरमा यस्ता मुद्रा राख्न सकिन्छ । क्रिप्टोकरेन्सीको नियमन गर्ने कुनै निकाय वा केन्द्रीय बैंक भने छैन । वा जारी गर्ने बैंक वा निकायले आफ्नो सर्भरमा राख्न पनि सक्छ । क्रिप्टोकरेन्सी मार्फत सामान किन्न वा भुक्तानी गर्न सकिन्छ । विश्वमा सबैभन्दा पहिलो क्रिप्टोकरेन्सीको रूपमा बिट्क्वाइन प्रयोगमा आएको थियो ।
हाल हजारौँ संख्यामा क्रिप्टोकरेन्सीहरु प्रयोगमा आइरहेका छन् । एकीन तथ्यांक नभए पनि करिब १० हजार क्रिप्टोकरेन्सी रहेको बताइन्छ । बिटक्वाइन, रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन लगायत प्रयोगमा रहेका मुख्य क्रिप्टोकरेन्सी हुन् ।