काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुलाई लक्षित गर्दै क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ।
प्रतियोगितामा भाग लिने विजेतालाई बैंकले आफ्नो ब्राण्ड फिल्म निर्माण गर्नका २० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । प्रतियोगिता लक्ष्मी बैंकको पाँचवटा मूलमान्यताहरु रिलेसनसिप, एक्स्प्लोरर्स, टिमवर्क, रेस्पोन्सिबल, प्रोग्रेसिभमा आधारित रहने बताइएको छ। यसैको आधारमा बैंकले आफ्नो २० औं वर्षको यात्रा तय गर्न सफल भएको जनाएको छ।
सबै प्रतियोगीहरुलाई विज्ञ प्यानलले प्राविधिक र रचनात्मक दुवै पाटोलाई मध्यनजर गर्दै मूल्यांकन गरिने बैंकले जनाएको छ। बैंकले प्रतियोगितासम्बन्धी थप जानकारी आफ्नो वेबसाइटबाट समेत हेर्न सक्ने जनाएको छ।
‘यो प्रतियोगिता लक्ष्मी बैंकको क्राउड सोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो। यसअघि २०१८ मा बैंकले’माइ कार्ड आइडियाज’ र २०२० मा ‘माइ मोबाइल मनि’ भिडियो निर्माण प्रतियोगितामा सफलता पाइसकेको छ,’ बैंकले जनाएको छ।