काठमाडौं । मास्कको व्यापारमा खुद्रा व्यापारीहरुले ब्रह्मलुट गरिरहेका छन् । कोरोना महामारीपछि अनिवार्य जस्तै बनेको मास्क व्यापारीहरुले मनलाग्दी भाउमा बेच्ने गरेका हुन् ।
व्यापारीहरुले उद्योगले दिने मूल्यभन्दा तीन गुणा बढी मूल्यमा बेच्दै आएका छन् । हाल उद्योगहरुले प्रतिपिस मास्क ३ रुपैयाँमा बेच्ने भए पनि बजारमा भने अधिकांशले १० रुपैयाँमा बेच्ने गरेका छन् ।
किाराना पसल, फूटपाथ, स्टेशनरीदेखि फार्मेसीलेसम्म सामान्य मास्क प्रतिपिस १० रुपैयाँमा बेच्दै आएका छन् । अहिले नेपालमा प्रयोग हुने अधिकांश मास्क स्वदेशमै उत्पादन हुने र उत्पादन लागत समेत घटेको छ । तर, व्यापारीहरुले भने कोरोना सुरु हुने बेलामा विदेशबाट ल्याएको मास्ककै मूल्यमा बेचिरहेका हुन् ।
दैनिक लाखौं पिस खपत हुने मास्कमा ब्रह्मलूट हुँदा पनि सरकार भने मूकदर्शक बनेर बसेको छ । उद्योगबाट किनेकोभन्दा तेब्बर बढी मूल्यमा बेच्दा पनि सरकारले त्यसको नियन्त्रण तथा बढीमा बेच्नेलाई कारबाही गर्न प्रभावकारी कदम चालेको देखिँदैन । बजार अनुगमन तथा कारबाही शून्यप्रायः छ ।
यता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मास्को मूल्यमा कालोबजारी गर्नेलाई कारबाही गर्दै आएको बताएको छ । ‘हामीले लागत हेरेर प्रति (सर्जिकल मास्क) पिस मास्कको मूल्य ५ रुपैयाँ कायम गर्न निर्देशन दिएका छौं, यदि कसैले ५ रुपैयाँभन्दा धेरैमा बेचेको भएमा खबर गर्नुस्, तत्काल कारबाही गर्छौ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
प्रति पिस मास्कको मूल्य ५ रुपैयाँ मात्र (लागत हेरेर, आन्तरिक तथा बाह्य आयात) भएको बताए पनि बजारमा एकादुई व्यवसायीले मास्कको मूल्य ५ रुपैयाँ कामय गरेका भए पनि अधिकांश व्यापारीले मल्य घटाएका छैनन् ।
विभागले नेपालमा कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) देखा परेसँगै मास्कको मूल्य ५ रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो ।
तर बजारमा मास्कको मूल्य भने घटेको छैन । बढी मूल्यमा मास्क बेचेको भन्दै गुनासो समेत नआएको विभागले जनाएको छ ।