 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट प्रतिकारोबार ७ लाख रुपैयाँ भन्दाबढी नगद कारोबार गर्नेको नामावली उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि पुस मसान्तसम्म कुनै पनि बैंकमा ७ लाख रुपैयाँ वा सोभन्दा बढी जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूची तयार गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय नगदको शंकास्पद कारोबार बढ्नु, हुन्डी, क्रिप्टोकरेन्सी लगायतको अवैध कारोबारका लागि नगदको प्रयोग बढ्न थालेको पाइएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई कारोबार गर्ने व्यक्तिको खाता नम्बर, खातावालाको नाम, ठेगाना, सीबीएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका ग्राहकको विवरण बैंकले केन्द्रीय बैंकलाई बुझाउन निर्देशन दिएको हो ।
हाल १० लाखभन्दा माथिको रकम चेकमार्फत नै हुँदै आएको छ भने १० लाख भन्दा तलको कारोबार नगदमा गर्न पाइन्छ । यद्यपि, बैंकमा निक्षेप जम्मा गर्दा भने जति पनि जम्मा गर्न पाइन्छ ।

 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                