बैंक तथा वित्तीय संस्थालाई कुन क्षेत्रमा ऋण लगानी गर्दा धेरै जोखिम ?

काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरू व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । कोरोना महामारीपछि तरलता अभावका बाबजूद लक्ष्यभन्दा धेरै कर्जा विस्तार गरिसकेका छन् । यद्यपि, पछिल्लो समय भने कर्जा विस्तारमा केही सुस्त देखिएका छन् ।

 

चालु आर्थिक वर्षको ६ महिनामै वाणिज्य बैंकहरूले वार्षिक लक्ष्यको ६० प्रतिशत कर्जा लगानी गरिसकेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको मंसिर मसान्तसम्म कुल ४६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

 

आक्रमक कर्जा विस्तार गरे पनि बैंकहरूको ऋण खासै जोखिममा परेको देखिँदैन । बैंकहरूले जुन गतिमा कर्जा विस्तार गरेको छन् सोही अनुपातमा खराब कर्जा घटाउन पनि सफल भएका छन् । वित्तीय सूचकहरूमा जति खराब कर्जा कम भयो त्यत्ति नै राम्रो मानिन्छ । यसरी खराब कर्जा घटाउनु भनेको नाफा बढाउनु र बैंकको वित्तीय जोखिम घटाउनु पनि हो ।

 

कुनै पनि वित्तीय संस्थाको खराब कर्जा ५ प्रशित भन्दा कम छ भने त्यसलाई सामान्य मानिन्छ । हाल वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा १.१९ प्रतिशत मात्र रहेको छ । यो तुलनात्मक रूपमा राम्रो अवस्था हो ।

 

यसअर्थमा नेपालका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीको अनुपालमा जोखिमयुक्त लगानी भने न्यून रहेको छ । वित्तीय स्थायित्व कायम गर्नकै लागि नियाक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कति पय क्षेत्रमा लगानी गर्न पाउने सीमा नै तोकिदिएको हुन्छ । जसको कारण बैंक तथा वित्तीय संस्थाको लगानी जोखिम अवस्थामा परिणत हुने सम्भावना कम रहन्छ ।

 

लगानीको हिसाबले कुन क्षेत्र धेरै जोखिमपूर्ण ?

 

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप मार्फत आफ्नो व्यवसायलाई अगाडि बढाउँछन् । निक्षेपबापत् संकलन गरेको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट नाफा कमाउँछन् ।

 

वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा त्यो रकम उठ्छ कि उठ्दैन् त्यसको जोखिम हेर्छन् । वित्तीय संस्थाहरूले हाइड्रोपावर, कृषि तथा पशुपालन, घरजग्गा, व्यापार, पानी, ग्यास, सवारी साधन, सेयर मार्केट, होटल तथा रेष्टुरेन्ट, पूर्वाधार निमार्ण, उद्योग व्यवसाय लगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्ने गरेका छन् ।

 

पूर्वाधार तथा निमार्ण क्षेत्रलाई कर्जा लगानीका हिसाबले उच्च जोखिम मानिन्छ भने व्यापारमा गरिएको लगानी न्यून जोखिममा रहेने बैंकरहरू बताउँछन् ।ग्लोबल आइएमई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवर क्षेत्री बैंकिङ प्रणालीमा लगानीको हिसाबले म्यानुफयक्चरीङलाई सबैभन्दा बढी जोखिमको रूपमा लिइने बताउँछन् ।

 

‘म्यानुफयक्चरीङको लगानी सबैभन्दा बढी जोखिमको रूपमा लिइन्छ किनभने त्यहाँ ठूलो रकम लगानी गरेर भवन, लगायत पूर्वाधार निमार्ण गनुपर्ने हुन्छ,’ उनले भने, ‘ती संरचनाहरूमा क्षतिपुगे बैंक नै संकटग्रसत हुने अवस्था आउनसक्छ ।’

 

होटल, सिनेमा हल, अस्पताल, जलविद्युत् कम्पनीहरूमा गरिएको लगानी जोखिमयुक्त बन्ने सम्भावना बढी रहन्छ । यद्यपि, सोही क्षेत्रले नै व्यापारको भन्दा बढी प्रतिफल दिने उनको भनाइ छ ।

 

वित्तीय संस्थाहरूका लागि सबैभन्दा कम जोखिम भनेकै व्यापार क्षेत्र रहेको उनले बताए । बिल्डिङ बनाएर, संरचना निमार्ण गरेर त्यसलाई बेच्नुभन्दा स्वभाविक रूपमा सामान बेच्नुमा कम जोखिम हुने उनको भनाइ छ । ‘तर, जोखिम भनेर लगानी नगर्ने कुरा हुँदैन् । जोखिम मोलेर नै लगानी गर्ने भएकाले सबैभन्दा बढी प्रतिफल पनि त्यसबाटै आउँछ ,’ उनी भन्छन् ।

 

सेवा क्षेत्र अन्तर्गत पनि सबैभन्दा धेरै लगानी हुने होटल जस्ता क्षेत्रहरूमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने कर्जाको हिसाबले जोखिम मानिने उनले बताए । वित्तीय क्षेत्रलले थोरै लगानी आवश्यक पर्ने कन्सर्टिङ व्यापार, म्यानपावर बिजनेसलाई कम जोखिम अन्तर्गत गणना गर्छ ।

 

‘हाइरिस्क बिजनेश नै अर्थतन्त्रको रियल सेक्टर’

 

बैंक तथा वित्तीय संस्थाहरूलाई देशको अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । देशको प्रत्यक्ष र औपचारीक अर्थतन्त्र भनेकै वित्तीय क्षेत्र मार्फत सजिलै देखिन्छ । यद्यपि, ती संस्था र क्षेत्रले अपनाउने नीतिले समग्र अर्थतन्त्रमा प्रभाव पर्न सक्छ । यस्तो नकारात्मक प्रभाव आउन नदिन सरकारले आफ्ना नियामक मार्फत नियन्त्रण पनि गरेको हुन्छ ।

 

जोखिम युक्त क्षेत्रमा मात्रै लगानी गरेर बैंकिङ संस्थामै क्रप्ट आयो भने त्यसले राष्ट्र बैंक हुँदै अर्थतन्त्रलाई नै संकट पार्न सक्छ भने उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले रोजगारी सिर्जना गरेर राम्रो प्रतिफल पनि दिन्छ ।

 

लगानीका हिसाबले जोखिम युक्त मानिएको पूर्वाधार तथा मेनुफ्याक्चरीङमा गरिएको लगानीले लामो समयसम्म आम्दानीका स्रोत बनिरहने क्षेत्री बताउँछन् । ‘हाइरिस्क विजनेस नै अर्थतन्त्रको रियल सेक्टर हो । लामो समय टिकाउ हुने भएकाले मेनुफ्याक्चरमा गरेको लगानी ग्रोथ भइरहन्छ र इम्प्लोयर जेनेरेट गर्छ,’ उनी भन्छन्, ‘रोजगारी सिर्जना भयो भने त्यसले जनताको आम्दानी बढाउँछ र देशको अर्थतन्त्रलाई सही मार्गमा ल्याउँछ ।’

 

यस्ता क्षेत्रको लगानीले व्यक्तिको आयस्रोत बढ्ने, त्यसपछि डिमान्ड र उत्पादनमा वृद्धि भइ बैंकिङ क्षेत्रलाई नै फाइदा हुने उनले बताए । ‘संस्थाहरूले कर्जा लगानीमा जोखिम देखिएको छ भने त्यसलाई अनुगमान, मोनिटरीङ र व्यवस्थापन कसरी गर्ने भन्ने आफ्ना मेकानीजम् मार्फत प्रयोग गर्छ,’ उनले भने ।

 

‘अहिलेसम्म नेपाली वित्तीय क्षेत्र कन्ट्रोलमै छ’

 

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार हालसम्म लगानी जोखिमको हिसाबले नेपाली बैंक/वित्तीय संस्थाहरू कन्ट्रोलमै रहेका छन् । तर, पछिल्लो समय औद्योगिक विकास र ठूला आयोजनाको निमार्णले एउटै व्यक्तिले अर्बौ रुपैयाँ ऋण लिन थालेकाले अबको दिनमा जोखिमको सम्भावना बढ्दै गएको छ ।

 

अन्य देशको तुलनामा नेपालमा धितो लिलामी गर्ने प्रकृया सजिलो, मानिसको इमान्दारीता र थोरै लगानीले गर्दा नेपाली वित्तीय क्षेत्र जोखिम अवस्थामा नरहेको क्षेत्री बताउँछन् । ‘हालसम्म जोखिमको हिसाबले नेपाली वित्तीय क्षेत्र कन्ट्रोलमै छ । नेपालमा अन्यदेशको तुलनामा नेपालमा धितो लिलामी प्रकृया सजिलो छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अर्को नेपालीहरू इमान्दार छन्, ऋण लिएपछि तिर्नुपर्छ भन्ने भावना भएका कारण हाम्रो खराब कर्जा कम भएको हो ।’

 

इन्डोनेसीया, मलेसीया जस्ता देशहरूमा अदालतको स्वीकृत दिएपछि मात्रै बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको सम्पत्ति लिलामी गर्न पाउने व्यवस्था छ । तर नेपालमा निश्चित प्रकृया अपनाएर ऋणीको सम्पत्ति लिलामी गर्ने र लिलामी नगए बैंक तथा वित्तीय संस्थाले आफनो नाममै ल्याउन पाउने व्यवस्था छ । एउटै परिवारको मान्छेले अर्बैँ ऋण लिने र संस्थाहरूले दिन थालेका कारण अब जोखिम बढ्दै गएको उनले बताए ।

 

नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी झन्डै ४ गुणाले बढ्यो Read Previous

नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी झन्डै ४ गुणाले बढ्यो

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?