महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसंग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।

 

बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसंगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताएका हुन् । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता थियो ।

 

पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । ‘पूर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ,’ उनले भने, ‘हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ ।’

 

नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । ‘बेलायत अब ईयूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौं,’ उनले भने, ‘यो मेरो प्राथमिकतामा रहेको विषय हो ।’

 

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । ‘यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुनेछ,’ उनले भने, ‘दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।’

२० तलासम्म आगो निभाउने दमकल ल्याउँदै काठमाडौं महानगर, कति पर्छ मूल्य ? Read Previous

२० तलासम्म आगो निभाउने दमकल ल्याउँदै काठमाडौं महानगर, कति पर्छ मूल्य ?

जेठ ४ गते स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस Read Next

जेठ ४ गते स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस