काठमाडौं । नजिकिँदै गरेका दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै सरकारले देशभर ७३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सोमबारबाट सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १६ गते छठको दिनसम्म सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको थियो । वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसलहरु सञ्चालन गर्ने छन् ।
जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दूग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् ।
सुपथ पसलमा केमा कति छुट पाइन्छ ?
सुपथ मूल्य पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाइने छ । खाद्य व्यवस्था कम्पनीले प्रतिकिलो चामलमा ५ देखि १० रुपैयाँ, फापर, गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो च्याँग्रा,खसी–बोकाको मासुमा १० रुपैयाँ छुट दिनेछ । खाद्यले यसपटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको छ ।

साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ । यस्तै, दूग्ध विकास संस्थानले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ ।
उपत्यकाका २० वटा सुपथ पसल
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २० वटा सुपथ मूल्य पसल सञ्चालन भएका छन् । जसमा घुम्ती पसलसहित साल्ट ट्रेडिङले ११ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ वटा र दूग्ध विकास संस्थानले ४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
साल्ट ट्रेडिङले ३ वटा घुम्तीसहित रामशाहपथ, कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर, सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरेको छ ।
खाद्य व्यवस्थालले रामशाहपथ,थापाथली, नख्खुलगायतका स्थानमा सुपथ पसल सञ्चालन गरेको छ । दूग्ध विकास संस्थानले लाजिम्पाटसहित विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।