फोटोकपी गर्ने व्यवसायमा सम्भावना धेरै, किन आँखा परेन युवावर्गको

फोटोकपी, लेमिनेशन, बाइन्डिङ इत्यादी झट्टै चाहिएको गरिहाल्न त्यती सजिलो छैन काठमाडौंमा । कतै सानो मेशिन हुने । कहीँ मेशिन बिग्रेको हुने । कसैकोमा डकुमेन्ट इमेलबाट तान्न इन्टरनेट नै नचल्ने । कतै भने सबै चल्ने, मेशिन पनि राम्रो हुने र प्रिन्ट गर्नुअघि डकुमेन्ट सामान्य काँटछाँट गर्न पनि नजान्ने सञ्चालक भइदिने ।

 

त्यसैले यो काममा धेरै सम्भावना देख्छन् नुवाकोटका सन्तोष लम्साल । उनी विगत १ दशक देखि यो काम गरिरहेका छन् । मध्य बानेश्वरमा रहेको उनको ‘फोटोकपी पसल’मा उनले करिब ५ लाख रुपैंयाँमा किनेका हुन्, १० वर्ष अघि ।

 

अहिले उनको पसलमा फोटोकपी, बाइन्डिङ, लेमिनेशन, प्रिन्टिङ लगायत खल्ती र इसेवाबाट गरिने विद्युतिय कारोबारको पनि सुविधा रहेको छ । वरिपरी कलेज, स्कुलहरु र कार्यालयहरु भएको उनको पसल बिहान खोले देखि बेलुकी बन्द गरुन्जेल सम्मै भीडभाड भइनै रहन्छ । खान खाने समय पनि मुश्किलले जुटाउँछन् सन्तोष ।

 

‘खल्तीबाट दैनिक करिब १ लाख रुपैंयाँको विद्युतिय कारोबार हुन्छ । त्यसबाट हामीलाई झण्डै १ प्रतिशत नाफा बच्छ,’ सन्तोष भन्छन्, ‘अन्य कामबाट भने दैनिक ५ हजार रुपैंयाँ हाराहारीको कारोबार हुन्छ । त्यहाँबाट पनि करिब २ हजार २५ सय जति बच्छ ।’

 

यो व्यवसाय गर्नका लागि अहिले करिब १० लाख रुपैंयाँ जतिको लगानी लाग्ने सन्तोष बताउँछन् । उनका अनुसार यो व्यवसाय गर्नका लागि कम्तीमा २ वटा ठूला फोटोकपी मेशिन, कलर प्रिन्टर, कम्प्युटर, लेमिनेशन मेशिन जस्ता सामानहरुमा लगानी लाग्छ ।

 

एउटा फोटोकपी मेशिनको लागि करिब ३ लाख रुपैंयाँ पर्ने सन्तोष बताउँछन् । कलर प्रिन्टरको लागि भने ४० हजार रुपैंयाँ पर्छ ।‘त्यपछि लाग्ने भनेको सञ्चालन खर्च मात्र हो । सञ्चालनको लागि धेरै खर्च हुने भनेको कागज हो,’ सन्तोष भन्छन् ।

 

एक पाना कागजको करिब ८० पैसा पर्छ । त्यसमा मसी, विजुली आदि खर्च जोड्दा १ रुपैंयाँ ५० पैसा जति पर्ने सन्तोषको अनुमान छ । हाल उनी एक पाना फोटोकपी गरेको २ रुपैंयाँ ५० पैसा लिन्छन् । यसैगरि प्रिन्ट गरेको चाँही ३ रुपैंयाँ ५० पैसा लिने गरेका छन् ।

यो भनेको बजार दर अनुसार धेरै नै सस्तो हो । मालपोत, यातायात लगायत अन्य सरकारी कार्यालय छेउछाउ एक पाना फोटोकपी गरेकै ५ रुपैंयाँ सम्म लिने गरेका छन् । कम्प्युटरबाट प्रिन्ट गरेको त झन् १० रुपैंयाँसम्म लिने गरेका छन्, एक पानाकै !

 

यो काम गर्न चाहने युवाहरुको लागि प्रशस्त संभावना देख्छन् सन्तोष । १० लाख रुपैंयाँ जति लगानी गरेर राम्रो ‘लोकेशन’मा पसल राख्न सके महिनाको १–१.५ लाख रुपैंयाँ कमाउन खासै गाह्रो नहुने उनको बुझाई छ ।

 

‘मेरोमा अधिकांश काम ‘भोल्युम’मा हुन्छ । कलेजका विद्यार्थीहरुको नोटहरु फोटोकपी गर्ने, थेसिस प्रिन्ट र बाइन्डिङ गर्ने, निर्माण कम्पनीहरुका टेण्डरका लागि कगजपत्र प्रिन्ट वा फोटोकपी गर्ने मेरा मुख्य काम हुन् । त्यसैले मैले बजार मूल्यभन्दा कममा गरेपनि नाफा राम्रो बच्छ । र, म यो कामबाट सन्तुष्ट छु,’ सन्तोषले चाणक्य पोष्टसँग भने ।

 

यो काम गर्न चाहने युवाहरुको लागि प्रशस्त संभावना देख्छन् सन्तोष । १० लाख रुपैंयाँ जति लगानी गरेर राम्रो ‘लोकेशन’मा पसल राख्न सके महिनाको १–१.५ लाख रुपैंयाँ कमाउन खासै गाह्रो नहुने उनको बुझाई छ ।

 

यो काम गर्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लोकेशन रहेको अनुभव सन्तोषको छ । त्यसपछि मेशिनहरु बिग्रदा सामान्य मर्मत आफैंले गर्न सक्नुपर्ने उनको बुझाई छ ।

 

‘प्रबिधिकको भर परेर यो काम चल्दैन । मेशिन बिग्रेपछि प्रबिधिक आउनै २–३ दिन लगाइदिन्छन् । आफुले नजाने त व्यवसाय नै थप्प हुन्छ त्यतिबेलासम्म’ उनी भन्छन् ।

 

यो व्यवसाय राम्रोसँग नाफामुलक ढंगले सञ्चालन गर्नका लागि नयाँ ग्राहकहरु खोजेर ल्याउन सक्ने र पुरानालाई सन्तुष्ट बनाउन सक्ने खुबी र सामान्य कम्प्युटर सम्बन्धी ज्ञानको (डकुमेन्टहरु र्फम्याट गर्नका लागि) भने आवश्यकता पर्छ ।

 

ग्राहकहरु राम्रो फोटोकपी, प्रिन्ट आदि गर्ने ठाउँ नपाएर भौतारिरहेको देखेका सन्तोषलाई युवाहरुको लागि यो व्यवसाय धेरै उपयुक्त हो भन्ने लाग्छ ।

 

करिब १ दशक अघि त्रिचन्द्रमा आइएस्सी पढ्दापढ्दै यो काम शुरु गरेका उनी यो कामबाट उत्ताएका छैनन् । बरु अझै विस्तार गर्ने सोचमा छन् । काम गर्न विदेश जाने त उनले सपनामा पनि सोचेका छैनन् ।

 

देशभरका ७३ स्थानमा सहुलियत पसल सञ्चालन, केमा कति छुट पाइन्छ Read Previous

देशभरका ७३ स्थानमा सहुलियत पसल सञ्चालन, केमा कति छुट पाइन्छ

अब २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक नचाहिने, तुरुन्तै एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने Read Next

अब २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक नचाहिने, तुरुन्तै एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने