काठमाडौं । सलाम एयरले काठमाडौं–ओमान उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको परिप्रेक्षमा उडान संख्या थपेसँगै सहजरुपमा पर्यटक भित्र्याउन सहयोग हुने सलामले विश्वास लिएको छ ।
सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘ पर्यटन वर्ष २०२० ’ लाई सफल बनाउन सहयोग पुर्याउने बताए ।
नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपालीलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष १ लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए ।
सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए ।
सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरे ।
सलाम एयर ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यवसायिक क्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तव्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ ।
ओमान मै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पुर्याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तव्यको घोषणा समेत गर्दैछ ।