काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरले वृद्धि भएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा १०३.५८ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ३३ करोड निक्षेप संकलन र १० अर्ब ३८ करोड सापटी लिइ कुल १९ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४६.४७ (संशोधित १०८.५०)रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ३.७२ प्रतिशतबाट घटेर २.११ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २७७.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१४ रुपैयाँ छ ।