काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम ठप्प भएको छ । दोस्रो चरणको ड्रिलिङ सकिए पनि कोरोनाका कारण चिनियाँ प्राविधिक नआउँदा उत्खननको काम रोकिएको हो ।
चिनियाँ प्राविधिकले २०७६ असोजदेखि अन्वेषण तथा उत्खनन काम सुरु गरे पनि सोही वर्षको चैत यता रोकिएको छ । कोरोनाका कारण चिनियाँ जनशक्ति फिल्डमा नजाँदा उत्खननको काम रोकिएको हो ।
खानी विभागका प्रवक्ता जयराज घिमिरेले पेट्रोलियम पदार्थ उत्खनन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको भए पनि कोरोनाका कारण रोकिएको बताए । ‘सम्झौता गरी चिनियाँहरुले दुई चरण ड्रिलिङ गरी पेट्रोल तथा ग्यास उत्खननको काम गरिसकेका छन् । थप काम अघि बढाउने सम्झौता थियो,’ उनले भने, ‘तर चिनियाँ टोली पुनः काम आएका छैनन् । अब चाँडै आउने तयारी छ भन्ने सुनिएको छ ।’
नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम सकाएको छ ।
अब चिनियाँ टोलीले दुई तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ ।
तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओली २०७२ मा चीन भ्रमणका बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चीन सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो ।
के-के काम सकियो ?
चिनियाँ जनशक्तिले पहिलो चरणको अध्ययन सम्पन्न गरिसकेका छन् । २०७६ को असोजदेखि चैतसम्म दैलेखको ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरेका थिए । चिनियाँ प्राविधिक टोलीले भैरवी गाउँपालिकाका केही भू-भाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्वर गाउँपालिका केही भू-भाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।
सो क्रममा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणको पहिलो चरणको काम सम्पन्न भएको विभागले जनाएको छ । सर्वेक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी ४ किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएको थियो ।
चिनियाँ सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भू-भागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चीनकै अर्को विशेषज्ञ टोली आएर ४ किलोमिटर गइराइसम्म मुख्य ड्रिलिङको काम जनाइएको भए पनि हालसम्म काम अघि बढ्न नसकेको हो ।
दैलेखको शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा समेत परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उलेख्य उपस्थिति हुँदै आएको छ ।
त्यसैगरी विभागले मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा समेत प्राकृतिक ग्यास भएको बताएको छ, तर त्यो स्थान भने विभागले अनुमान गरेको भन्दा भिन्न ठाउँमा ग्यास देखा परेको बताएको छ ।