सेयर बजारमा तेहेरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गतसाता १४२ अंकले घटेको नेप्से आज एकैदिन तेहेरो अंकले कमब्याक गरेको हो ।

 

सत्ता गठबन्ध दलहरुबीच स्थानीय तहको चुनाव आगामी जेठसम्म गर्ने सहमति भएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा सेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज सवा ६ अर्ब बढीको सेयर किनबेच भएको छ ।

 

आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह् सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र लगानी समूह पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कारोबार भएका २३१ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे २३ करोड र एचआइडस्सीएलको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

तेहेरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, निफ्रा, लिबर्टी इनर्जी र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, बुद्धभूमि नेपालका सेयरधनीले पनि परिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा, प्रोग्रेसिभ फाइनान्स, हिमाल दोलखा र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर, सिन्धु विकास बैंक, कामना सेवा बैंक लगायत २ दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

 

मञ्जुश्री फाइनान्सका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.२३ प्रतिशत गुमाएका छन् ।

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाइका लागि कल सेन्टर स्थापना Read Previous

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाइका लागि कल सेन्टर स्थापना

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन ठप्प, चिनियाँ नआउँदा अघि बढेन काम Read Next

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन ठप्प, चिनियाँ नआउँदा अघि बढेन काम