जापान छाडेर नेपालमै बाख्रापालन, ‘एग्रो टुरिजम’को नयाँ कन्सेप्टमा अघि बढ्दै

काठमाडौं । नेपालाई कृषिप्रधान देश भनिन्छ । यहाँका झन्डै ८० प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् । तर, कृषकले उत्पादन गरेको कृषि उपजले वर्ष दिनभरी खान पुग्ने अवस्था छैन ।

 

तरकारी, फलफूल, खाद्यान्न लगायत उपभोग्व वस्तुमा समेर विदेशीकै भर पर्नुपरेको छ । वर्षेनी २ खर्ब बढीको खाद्यान्न आयात हुँदै आएको छ भने वर्षेनी त्यो क्रम बढ्दो छ ।

 

कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनुपरेको छ । व्यावसायिकभन्दा पनि निर्वाहमुखी कृषि पेशाका कारण उत्पादकत्वमा वृद्धि हुन सकेको छैन् । मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्नुमा थुप्रै कारण रहेका छन् ।

 

खेती गर्ने बेला मल र बीउको अभाव हुने गरेको छ । एकातिर कृषकहरूले कृषिका लागि आवश्यक उन्नत जातको बीउ, मल, सिचाँई जस्ता आधारभूत सुविधा पाउन सकेका छैनन् भने अर्कोतर्फ उत्पादन भएकै उपजहरूले बजार र उचित मूल्य पाउने अवस्था छैन् । दुःख र मेहनत गर्ने कृषकभन्दा बिचौलिया र व्यापारी मोटाउने गरेका छन् । आफैले उत्पादन गरेको उपजको मूल्य पाउन आन्दोलनदेखि अदालतसम्म धाउनुपर्ने बाध्यता छ किसानलाई ।

 

राज्यले कागजमा कृषिलाई प्राथमिकतामा राखे पनि व्यवहारमा उदासीन छ । कृषि मन्त्रालय धेरै बजेट पाउने मन्त्रालयमध्ये एक भए पनि अधिकृतले योजना बनाउने र सचिवले खर्च गरेर हिसाब मिलाउने मन्त्रालयको रूपमा स्थापित भएको छ । राज्यले थोरै मात्र भए पनि दिने अनुदान तथा सहुलियत वास्तविक कृषकलेभन्दा पनि बाठाटाठा र कागजी प्रक्रिया मिलाउनेले झ्वाम पार्ने गरेका छन् ।

 

यसले नेपालमै कृषिलाई व्यवसायीकरण गर्ने सोच भएका यूवा लगानी गर्न सक्ने अवस्थामा छैनन् । राज्यले कागजमा केही राम्रा नीति बनाए पनि व्यवहारमा लागू नहुँदा आम युवा कृषिप्रति प्रोत्साहित हुन सकेका छैनन् । तर, यी तमाम समस्या र बेथितिका बीच पछिल्लो समय केही युवाहरू स्वदेशमै कृषिमा केही गर्नुपर्छ भनेर लागेका छन् । युवाहरू व्यावसायिक तरकारी, फलफूल खेतीदेखि पशुपालनमा होमिएका छन् ।

 

जो १० वर्षको जापान बसाइपछि बाख्रा पालनमा होमिए

 

पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा उन्नत जातका बाख्रा पालन गर्ने क्रम बढ्दै गएको छ । युवादेखि सरकारी सेवाबाट निवृत्त भएकाहरूसम्म व्यावसायिक बाख्रापालनमा होमिएका उदाहरण प्रशस्त भेटिन्छन् ।

त्यस्तै, मध्येका एक युवा हुन् सुदीप केसी । १० वर्ष  जापान बसेर फर्किएका उनी अहिले युवाहरूको समूह बनाएर बाख्रापालन गर्न थालेका छन् ।

 

काठमाडौं स्थायी घरभएका सुदीपसहित ५ जना युवाले सवाकराेड लगानीमा चितवनको पिठुवामा व्यावसायिक बाख्रापालन सुरू गरेका छन् । फरक पृष्ठभूमिका ५ जना मिलेर एसपी ग्रुप प्रालि फर्म दर्ता गरी बोयर जातको बाख्रा पालन भइरहेको छ ।

 

चाणक्य पोष्टको टिम बाख्रा फर्ममा पुग्दा दुई युवा सुदीप केसी र प्रमोद घिमिरे बाख्रालाई दानापानी खुवाइरहेका थिए । उक्त फर्मको नेतृत्व सुदीपले नै गरेका रहेछन् ।

 

यत्रो लामोसमय जापान बसेर नेपालमा बाख्रा फर्म चलाउने इच्छा कसरी पलायो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विदेशमा जति बसे र पैसा कमाय पनि त्यो आफ्नो नहुने रहेछ । बरु आफ्नै माटोमा केही गर्न सके आफ्नै घर परिवारसँग बस्न पनि पाइने, रोजगारी पनि सृजना हुने भएकाले यहीँ केही गरौं भनेर बाख्रा पालन सुरू गरेका हौं ।’

 

चितवनमै फर्म चलाउने स्थान रोज्नुको कारण बारे उनीहरू भन्छन्, ‘बोयर जातको बाख्रा तातो मौसमलाई उत्कृष्ट मानिन्छ । साथै, देशभर बोयर जातको बाख्रा पुर्याउन चितवन सबैभन्दा राम्रो स्थान रहेछ ।’

 

बाख्रापालनसँगै एग्रो टुरिजमतर्फ

 

तीन बीघा जमिनमा फैलिए फर्ममा ८ कट्ठा जमिनमा बाख्रा गोठ, कर्मचारी क्वाटर, स्टोर लगायतका संरचना बनाइएको छ । अहिले ४ जना कामदारहरूले निरन्तर काम गरिरहेका छन् । फार्ममा ३ वटा बोका तथा ४६ वटा बाख्रा रहेका छन् । ६ महिनाअघि पाल्न सुरू भएका बाख्राले बच्चा पाउन थालेका छन् । फर्म निर्माण र बाख्रालाई चाहिने घाँस रोप्न थालेको १ वर्ष पूरा भएको छ ।

 

१० वर्षको लागि जमिन भाडामा लिएर सुरू भएको फर्ममा विस्तारै बाख्रापालनसँगै अन्य व्यवसाय पनि विस्तार हुँदैछ । ‘अहिले बाख्राको फर्म नै २० प्रतिशत मात्रै उपयोग गरेका छौं । तत्काल मासुको लागि बाख्रा पालन नगरेको हुँदा धेरै बाख्रा राखिएको छैन । बोयर ब्रिडिङको लागि मात्रै अहिले काम भइरहेको छ । विस्तारै बाख्राको संख्या बढ्छ,’ अर्का संचालक प्रमोद घिमिरेले भने ।

 

आफूहरू बाख्रा पालमा मात्रै नभएर विस्तारै गाई पालन, माछा पालन र एग्रो टुरिजममा काम गर्ने योजना सहित चितवनमा लगानी गर्न आइपुगेको घिमिरे सुनाउँछन् । उनी भन्छन्, ‘सहरमा हुर्के बढेका बालबालीकालाई धान कसरी फल्छ ? गाईले दुध कसरी दिन्छ ? जस्ता विषय पनि थाहा नहुने अवस्था आइसकेको छ । त्यसैले होमस्टेको अबधारणमा केही नयाँ काम गर्ने सोच बनाएका छौं ।’

 

बोयर जातका बाख्रा किन ?

 

बोयर जातको बाख्रा मासु उत्पादनका लागिभन्दा पनि विशेषगरी ब्रिडिङका लागि उपयुक्त मानिन्छ । यी जातका बाख्रा अष्ट्रेलिया तथा साउथ अफ्रिकाबाट नेपाल ल्याइएको हो । उन्नत जातका भएका कारण यी बाख्रा अहिले ब्रिडिङका लागि मात्रै प्रयोग भइरहेका छन् ।

कृषकले बोयर जात बाख्रा प्रतिकेजी ४ हजार रुपैयाँमा फर्ममा नै आएर किन्ने र बजार खोज्न कहीँ जानु नपर्ने सुदीपले जानकारी दिए । यी बाख्रा निकै बलिष्ठ हुने, तौल पनि धेरै हुने र रोगसँग लड्न सक्ने क्षमता पनि धेरै हुने भएकाले कृषकहरू यसलाई खोजीखोजी पाल्न थालेका छन् ।

 

कृषकहरूले बोयरलाई अन्य जातका बाख्राहरूसँग पनि क्रस ब्रिडिङ गराइरहेका छन् । अहिले नेपालमा पाइने खरी, जमुनापारी र बारबरी जातका बाख्रासँग बोयरको क्रस ब्रिड गर्दा उत्पादन राम्रो देखिएको उनीहरूको भनाइ छ ।

 

विज्ञको सहयोगमा अघि बढ्दै

 

संचालक रहेका ५ जना मध्य कसैसँग पनि बाख्रा पालन सम्बन्धी प्राविधिक ज्ञान छैन । बाख्रा पालन गर्ने भनेपछि प्राविधिक ज्ञान लिँदै गएको र आवश्यकता अनुसार व्यवस्थापन गर्दै गएको उनीहरू बताउँछन् ।

 

उनीहरूले अहिले विज्ञहरूकाे सरसल्लाह र सुझावमा व्यवसाय अघि बढाइ रहेका छन् । फर्ममा अहिले चितवन कृषि क्याम्पसका प्रोफेसर देवीप्रसाद अधिकारी, किशोेरी कटरिया लगायतका अन्य डाक्टरहरूले प्राविधिक सहयोग गरिरहेका छन् ।

 

प्रतिफलको लागि समय लाग्ने

 

अन्य व्यवसायमा जस्तो बोयर बाख्रा पालनमा तत्कालै प्रतिफल पाउन नसकिने फर्मका संचालकहरू बताउँछन् । तरकारीखेती, कुखुरापालन लगायत व्यवसायमा केही महिनामै प्रतिफल पाइने भए पनि बाख्रापालनमा भने केही वर्ष प्रतिक्षा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

 

‘बोयर बाख्रा निकै मोटा र फुर्तिला देखिन्छन् । तर, तत्काल यसले प्रतिफल दिन सक्दैन । आफूहरूको योजना अनुसार काम हुने हो भने अर्को वर्षबाट बाख्राले प्रतिफल दिन्छ । साथै, अबको एक वर्ष भित्र यहाँ थप नयाँ कामको थालनी गर्ने छौं,’ सुदीप र प्रमोदले एकै स्वरमा भने ।

मासिक १ लाख ५० हजार रुपैयाँ अहिले नै खर्च छ ।  यसमा पूर्वाधार विस्तार र नयाँ पेशा थप गर्दा लगानी थप्दै जानु पर्ने हुन्छ । त्यसैले पनि सुरूमै १० वर्षको लागि जमिन लिएको उनीहरूको भनाइ छ ।

 

अनुदान पाउनै गाह्रो

 

सरकारले व्यावसायिक कृषि तथा पशुपालन गर्नेलाई सहुलियतपूर्ण कर्जा दिने बताए पनि आफूहरूले भने नपाएको केसी बताउँछन् । कृषिमै लागेकाभन्दा राजनीतिक पहुँच भएका र बाठाटाठाले मात्र त्यस्तो कर्जा पाएको आफूले देखेको उनको भनाइ छ ।

 

‘सरकराले कृषि गर्नेलाई सहजै सहुलियतपूर्ण कर्जा दिएका छौं भन्छ । तर, खै हामी जस्ताले त पाउन सकेका छैनै । हामी जस्तो जमिनस्तरमा काम गर्ने मानिसलाई अनुदान लिन निकै कठिन छ । पहुँच र सोर्सफाेर्स भएकले लिइरहेका छन् । हामी जस्ता असली कृषक सुनेर मात्र बस्नुपरेको छ,’ उनले भने ।

 

बाख्राको बीमासमेत आफ्नै पैसाले गर्नुपरेको उनले बताए । ‘बीमाको अनुदान पनि पछि फिर्ता आउँछ भनेका छन्, कहिले आउँछ टुङ्गो छैन । सबै लगानी आफ्नै खल्ती र सहकारीको महँगो व्याजमा गर्नु पर्ने अवस्था छ,’ केसीले भने ।

 

 

सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

ई-सेवाको वार्षिकोत्सवमा यती एयरलाइन्सको अफर, ४ गन्तव्यको टिकट १३०० रुपैयाँमै Read Next

ई-सेवाको वार्षिकोत्सवमा यती एयरलाइन्सको अफर, ४ गन्तव्यको टिकट १३०० रुपैयाँमै