काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ३ दिनमा नेप्से १०६ अंकले घटिसकेको छ ।
आज सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे ३ अर्बले घटेर सवा ५ अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ०.४५ प्रतिशतले घटेको छ भने जीवन बीमा समूह ०.३९ प्रतिशतले बढेको छ ।
आज कारोबार भएका २२९ कम्पनीमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २७ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर साढे २२ करोड र एनआइसी एशिया १९ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
सामान्य अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपालका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज कृषि विकास बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ८.३४ प्रतिशत गुमाएका छन् । त्यस्तै, गोर्खा फाइनान्स ४.५८, समिट र समता घरेलु लघुवित्तका सेयरधनीले ३ प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, चन्द्रागिरि हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, शिव श्री हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, श्री इन्भेष्टमेन्ट, आरम्भ चौतारी लघुवित्त, मेरो माइक्रो फाइनान्स, साहज ऊर्जाको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।