काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश रद्द गरे पनि बैंकको सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।
पूँजी कोष नपुगेकोभन्दै प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि बैंकले आइतबार यसअघि घोषणा गरेको १५.७८ प्रतिशत लाभांश रद्द गरेको थियो ।
तर, गत वर्षको नाफाबाट लाभांश नपाउने भए पनि लगानीकर्ता बैंकको सेयरप्रति आकर्षित भएको छन् । आइतबार झन्डै ३६ करोडको सेयर किनबेच भएको बैंकको आज पनि अधिक खरिद माग देखिएको छ ।
सोमबार १२ बजेसम्म बैंकको सवा २ लाख कित्ता सेयर माग भएको छ । जबकी विक्रीका लागि राखिएको सेयर जम्मा १५ हजार कित्ता मात्र ।
गत वर्षको नाफाबाट लाभांश नपाए पनि आगामी वर्ष आकर्षक लाभांश दिनसक्ने क्षमता देखेर बैंकको सेयरमा लगानीकर्ता आकर्षित भएको हुनसक्ने आकलन छ । हालै बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा अधिकांश सूचकमा बैंक्को प्रगति राम्रो छ ।
आक्रमक कर्जा विस्तारसँगै अन्य सूचकमा पनि उल्लेख्य सुधार गरेको बैंकले चालु वर्षको ६ महिनामै २ अर्ब ४० करोड नाफा कमाएको छ । तुलनात्मक रुपमा कम चुक्ता पूँजी भएर पनि सबैभन्दा धेरै व्यवसाय गर्न सफल बैंकले आगामी दिनमा झनै राम्रो प्रगति गर्ने अनुमानका साथ लगानीकर्ता सेयरमा आकर्षित भएका हुन् ।
केही महिनाअघि प्रतिकित्ता १०८५ रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य अहिले घटेर ८६० हाराहारीमा आएको छ । मूल्य सस्तो भएको र आगामी दिनमा व्यापार, नाफा लगायतमा नम्बर १ बैंक बन्न सक्ने सम्भावना देखेकाले लगानीकर्ता सोही आशमा यसको सेयरमा आकर्षित हुन थालेका हुन् ।
पुस मसान्तसम्म बैंकले सबैभन्दा धेरै २ खर्ब ९४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा लगानी गरेको छ । यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ४१.५४ रुपैयाँ रहेको छ ।
यो पनि पढ्नुहोस् : बैंकिङ ‘लिडर’ बन्न नबिल, एनआइसी र ग्लोबल बीच कडा टक्कर, कुन सूचकमा को तगडा ?