बैंकिङ ‘लिडर’ बन्न नबिल, एनआइसी र ग्लोबल बीच कडा टक्कर, कुन सूचकमा को तगडा ?

काठमाडौं । विगत ५/६ वर्ष अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

 

बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले ‘नम्बर १’को ताज पहिरिरह्यो । तर, पछिल्लो २ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र बिग मर्जरको सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।

 

यी दुई बैंकको नयाँ ‘भर्सन’ले वर्षौंदेखि बैंकिङ क्षेत्रको लिडर बन्दै आएको नबिललाई टक्कर दिन थालेको छ अर्थात् व्यवसाय सम्बद्ध अधिकांश क्षेत्रमा चर्को प्रतिस्पर्धा गर्न थालेका छन् । अझ, पछिल्ला त्रैमासहरुमा नबिललाई पछि पार्न सफल भएका छन् ।

 

भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायीक रणनीतिबाट प्रभावित रहेको एनआइसी एशियाले विगत २–३ वर्षमा लामो फड्को मारेको छ । एनआइसीले आक्रमक शाखा विस्तारसँगै रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको छ ।अहिले देशभर सबैभन्दा बढी शाखा संजाल एनआइसीकै छन् । देशभर करिब ३५० हाराहारीमा शाखा छन् । साथै, डिजिटल बैंकिङमा पनि एनआइसीले उल्लेख्य काम गरेको छ । यही जगमा एनआइसी बैंकिङ लिडर बन्ने होडमा दौडिरहेको छ । र, बन्न सक्ने दाबी पनि वित्तीय सूचक मार्फत गरिरहेको छ ।

 

त्यस्तै, दुई वर्ष अघि जनता बैंकलाई गाभेर बिग मर्जरको सिनर्जी प्राप्त गरेको ग्लोबल आइएमई बैंक पनि बैंकिङ क्षेत्रको लिडर बन्ने होडमा छ । चुक्त पूँजीको आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल भविष्यमा आफू नै नम्बर बन्ने रणनीतिका साथ अघि बढेको छ । ग्लोबल शाखा सञ्जाल, डिजिटल बैंकिङ, कर्जा विस्तारमा आक्रमक रुपले लागेको छ ।

 

वर्षैंदेखिको आफ्नो ताज खोसिने देखिएपछि नबिल बैंक पनि पछिल्लो समय फरक रणनीतिका साथ अघि बढेको छ । उसले पनि डिजिटल बैंकिङलाई आफ्नो हतियार बनाउँदै गएको छ । साथै, आफ्नो साख जोगाइ राख्न बिग मर्जरलाई समेत अगाँलेको छ । यही क्रममा गत साता मात्रै नबिले नेपाल बंगलादेश बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता समेत गरिसकेको छ । सो मर्जपछि थप सिनर्जी प्राप्त हुने र आफ्नो ताज कायम राख्ने नबिलको दाबी छ ।

 

कुन सूचकमा को अब्बल ?

 

वर्षौंदेखि अग्रणी बन्दै आएको नबिल र पछिल्ला २/३ वर्ष यता नम्बर १ बन्ने होडमा दौडिएका ग्लोबल र एनआइसी बीच अहिले तीव्र प्रतिस्पर्धा देखिएको छ । यी ३ बैंक बीच को अग्रणी बन्ला, कसले बैंकिङ क्षेत्र लिड गर्ला त्यो भविष्यले नै बताउला ।

तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा भने ग्लोबल र एनआइसीले धेरै सूचकहरूमा नबिललाई पछि पारेका छन् । वासलतमा प्रकाशन हुने मुख्य १ दर्जन बढी वित्तीय सूचकमा एनआइसी र ग्लोबल नबिलभन्दा अघि लागेका छन् अर्थात् नबिलकोभन्दा अवस्था राम्रो बनाएका छन् । यहाँ हामीले पुस मसान्तसम्मको वित्तीय सूचकका आधारमा ३ बैंकको तुलना गरेका छौं ।

 

सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू प्रतिसेयर, वितरण योग्य नाफा, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थमा ग्लोबल र एनआइसी नै अगाडि रहेका छन् । यी तीन बैंकमध्ये एनआइसीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ४१.५९ रुपैयाँ छ । यो नबिलकोभन्दा झन्डै दोब्बर हो । नबिलको प्रतिसेयर आम्दानी २३.५९ र ग्लोबलको २२.३९ रुपैयाँ छ ।

 

त्यस्तै, वितरणयोग्य नाफामा ग्लोबलले नबिललाई पछि पारेको छ । पुससम्म सबैभन्दा धेरै वितरणयोग्य नाफा ग्लोबलको १ अर्ब ४८ करोड छ । त्यस्तै, नबिलको १ अर्ब ४५ करोड रुपैयाँ र एनआइसी एशियाको ८६ करोड रुपैयाँ छ ।

 

सेयर बजारमा नबिलको भन्दा ग्लोबल र एनआइसीको सेयर मूल्य कम भएका कारण यी दुई बैंकको मूल्य आम्दानी अनुपात पनि कम छ । ग्लोबलको मूल्य आम्दानी अनुपात १४.५६, एनआइसीको २१.२५ र नबिलको ४७.०६ प्रतिशत रहेको छ ।

 

त्यस्तै, प्रतिसेयर नेटवर्थ एनआइसी एशियाको सबैभन्दा धेरै १९९.८९ रुपैयाँ रहेको छ । नबिलको १८४.२८ रुपैयाँ र ग्लोबलको १४४.९७ रुपैयाँ छ ।

 

चुक्ता पूँजी, संचालन नाफा, खुद नाफामा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ भने निक्षेप संकलन, कर्जा लगानी, खुद ब्याज आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतमा एनआइसी एशिया बैंक अघि रहेको छ । जगेडा कोष भने नबिल बैंकको बलियो रहेको छ ।

 

दोस्रो त्रैमासमा ग्लोबल आइएमईले सबैभन्दा धेरै २ अर्ब ६६ करोड खुद नाफा कमाएको छ । यो नबिलकोभन्दा ४८ करोड र एनआइसीकोभन्दा २६ करोड बढी हो । समीक्षा अवधिमा एनआइसीले २ अर्ब ४० करोड र नबिलले २ अर्ब १८ करोड नाफा कमाएको छ ।

 

खराब कर्जाको कुरा गर्दा नबिल बैंकको धेरै रहेको छ भने एनआइसी एशियाको सबैभन्दा कम रहेको छ । एनआइसीको ०.४७ प्रतिशत मात्र रहेको छ भने नबिल र ग्लोबलको क्रमशः १.१३ र १.११ प्रतिशत रहेको छ ।

 

त्यस्तै, आधारदर भने नबिल बैंकको सस्तो रहेको छ । नबिलको आधारदर ७.३९ प्रतिशत मात्र रहेको छ भने ग्लोबलको ७.९९ र एनआइसीको ९.४४ प्रतिशत रहेको छ ।

 

यसरी हेर्दा पछिल्लो समय एनआइसी एशिया, ग्लोबल र नबिल कडा प्रतिस्पर्धी मात्र नभएर लिडर बन्ने होडमा छन् । कोरोना महामारीको यो समयका कारण समग्र व्यवसायीक सूचकहरूको वस्तुनिष्ठ तुलना हुन पनि संभव नहोला । तर पनि यी ३ बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने नै छ ।

कोहलपुर-सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध Read Previous

कोहलपुर-सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

भक्तपुरका यी ९२ प्लटिङको जग्गा नकिन्न सरकारको आग्रह (ठाउँसहित) Read Next

भक्तपुरका यी ९२ प्लटिङको जग्गा नकिन्न सरकारको आग्रह (ठाउँसहित)