अधिकांश बैंकको खराब कर्जा घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुले खराब कर्जा (नन पर्फमिङ लोन) कर्जा घटाउन सफल भएका छन् । गत वर्ष कोरोनाका कारण उठाउन नसकेको ऋण यस वर्ष उठाउन सफल भएपछि बैंकहरुको खराब कर्जा घटेको हो ।

 

चालु वर्षको सुरुको ६ महिनामा कोरोना प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान भएको थियो । व्यापार, व्यवसाय राम्रोसँग संचालन हुँदा व्यवसायीले पनि गत वर्ष बाँकी तिर्दा र बैंकहरुले पनि केही धितो लिलाम गरी ऋण असुल्दा खराब कर्जा घटेको हो ।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा घटेको छ । विवरण प्रकाशित गरेका गरेका २६ वटा (हिमालयन बाहेक) बैंकमध्ये २० वटाको खराब कर्जा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

 

गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले खराब कर्जा औसतमा ०.४४ प्रतिशतले घटाएका हुन् । गत वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा १.६३ प्रतिशत रहेकोमा चालु वर्षको सोही अवधिमा १.१९ प्रतिशतमा झारेका छन् ।

 

समीक्षा अवधिमा ११ बैंकको खराब कर्जा औसतभन्दा माथि रहेको छ भने १५ बैंकको अ‍ैसतभन्दा कम रहेको छ । यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै खराब कर्जा रहेको छ भने नेपाल एसबीआई बैंकको सबैभन्दा कम ०.१८ प्रतिशत रहेको छ ।

 

६ बैंकको भने बढ्यो

 

समीक्षा अवधिमा एनआइसी एसिया, नबिल, प्रभु, लक्ष्मी, एभरेष्ट र सनराइजको भने खराब कर्जा बढेको छ । आक्रमक कर्जा विस्तार गर्दै आएको एनआइसीको खराब कर्जा गत वर्ष ०.४३ प्रतिशत रहेकोमा बढेर ०.४७ प्रतिशत पुगेको छ ।

 

त्यस्तै, समीक्षा अवधिमा नबिलको खराब कर्जा ०.६ प्रतिशतबाट १.११ प्रतिशत, प्रभुको ०.६२ बाट ०.७८, लक्ष्मीको ०.७६ बाट ०.८३, एभरेष्टको ०.१९ बाट ०.२६ र सनराइजको १.०६ बाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

 

कुन बैंकको कति ?

 

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै खराब कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । पुस मसान्तसम्म यस बैंकको खराब कर्जा ३.०६ प्रतिशत रहेको छ । बैंकले गतवर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले घटाएको छ । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत खराब कर्जा रहेको थियो ।

त्यस्तै, धेरै खराब कर्जा हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ । समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको खराब कर्जा २.७५ प्रतिशत छ । गत वर्षको तुलनामा यस वर्ष बैंकको खराब कर्जा बढेको छ । गत आवको सोही अवधिमा २.०६ प्रतिशत खराब कर्जा रहेको थियो ।

 

यसैगरी, कृषि विकास बैंकको समीक्षा अवधिमा २.०८ प्रतिशत खराबकर्जा रहेको छ । गत वर्षको समीक्षा अवधिमा ३.१४ प्रतिशत खराबकर्जा रहेकोमा बैंकले घटाएको छ । समीक्षा अवधिमा नेपाल बैंकको १.९१, सिटिजन बैंकको १.८७,नेपाल बंगलादेश बैंकको १.७४,एनएमबीको १.४९,सनराइजको १.४१,नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको १.३३,सेन्चुरी कमर्सियलको १.३१,प्रभुको १.२३, ग्लोबल आइएमई बैंकको १.१३ र नबिल बैंकको १.११ प्रतिशत खराब कर्जा रहेको छ ।

 

यस्तै, कम खराब कर्जा हुनेहरुमा क्रमशः नेपाल एसबीआइ ०.१४, एभरेष्ट ०.२६, सानिमा ०.३०, सिद्धार्थ ०.३७, स्ट्याण्डर्ड चार्टर्ड ०.४४ र एनआइसी एशिया ०.४७ प्रतिशत रहेको छ ।

 

बैंकको ऋण कसरी खराब कर्जामा परिणत हुन्छ ?

 

बैंकले कुनै पनि ऋणीलाई दिएको ऋण तोकिएको भाका नाघेको ९० दिनसम्म पनि रकम भुक्तानी गर्न नसकेमा त्यस्तो कर्जा खराब कर्जामा परिणत हुन्छ ।

 

कर्जा खराबमा परिणत भएपछि बैंकले ऋणीको धितो लिलामी गरी कर्जा असुल्ने गरेका छन् । तर, कतिपय अवस्थामा धितो लिलामीबाट सबै ऋण उपर नहुने अवस्था सृजना हुँदा बैंकको खराब कर्जा झनै बढ्छ ।

 

खराब कर्जा बढेसँगै बैंकको समग्र प्रगतिमा असर पार्छ । बैंकले कर्जा प्रवाह गर्दा नै संभावीत जोखिमबापत रकम छुट्याउनु पर्ने प्रावधान रहेको छ । कर्जा प्रवाह गर्ने बित्तिकै कर्जाको १ प्रतिशत, ३ महिना भित्र ऋणीले साँवा तथा ब्याज तिर्न सकेन भने बैंकले सो कर्जाको २५ प्रतिशत रकम संभावीत जोखिम बापत छुट्याउनु पर्छ ।

 

त्यस्तै गरी ६ महिनासम्ममा अशुल नभए ५० प्रतिशत, ९ महिनासम्मा अशुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि अशुल नभए शतप्रतिश रकम कर्जा जोखिम व्यवस्था वापत छुट्याउनु पर्छ । कर्जा असुली हुन नसके यसरी जोखिम व्यवस्थापन गरेको रकम फिर्ता हुँदैन् । यसले बैंकहरूको लगानी योग्य रकमको साथै नाफामा समेत असर पार्छ ।

 

कुनै पनि बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा कम खराब कर्जालाई जोखिमपूर्ण अवस्था मानिँदैन् ।

 

नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ८ कम्पनी Read Previous

नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ८ कम्पनी

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई भेन्डिङ मेसिन प्रदान Read Next

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई भेन्डिङ मेसिन प्रदान