चम्किँदै उदयपुर सिमेन्ट, उत्पादन र विक्री लक्ष्यभन्दा धेरै

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट पछिल्लो समय व्यवसायमा आक्रमक हुन थालेको छ । कम्पनीले उत्पादन र विक्रीमा लक्ष्यभन्दा बढी सफलता हात पारेको हो ।

 

राजनीतिक हस्तक्षेपले जीर्ण बनेको उद्योग गत वर्षदेखि चम्कन थालेको हो । कुशल र सक्षम नेतृत्व पाएसँगै उद्योगको व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारपछि लक्ष्यभन्दा बढी उपलब्धी हासिल गर्न सफल भएको हो ।

 

एक वर्षअघि महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेले नेतृत्व सम्हालेपछि उत्पादन, विक्रीका साथै वित्तीय व्यवस्थापनमा पनि सुधार आएको उद्योगको दाबी छ ।

 

उदयपुर सिमेन्टले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा धेरै व्यापार गर्न सफल भएको छ । उद्योगले पुससम्म ५८ करोड रुपैयँको सिमेन्ट विक्री गरेको छ । यो लक्ष्यभन्दा ८.४१ प्रतिशत बढी हो । सो अवधिमा उद्योगले ५३ करोड ५१ लाखको सिमेन्ट विक्री गर्ने लक्ष्य राखेको थियो ।

उद्योगले पुससम्म ८ लाख मेट्रिकटन सिमेन्ट विक्री गर्ने लक्ष्य राखेकोमा ९ लाख मेट्रिकटन सिमेन्ट बेच्न सफल भएको हो । त्यस्तै, उद्योगले क्लिङकर उत्पादनमा पनि महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । ६ महिनाको अवधिमा उद्योगले लक्ष्यभन्दा २० प्रतिशत धेरै क्लिङकर उत्पादन गरेको छ । पुससम्म ५० हजार मेट्रिकटन क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले ६० हजार मेट्रिकटन क्लिङकर उत्पादन गरेको छ ।

 

सन् १९९४ मा जापान सरकारको सहयोगमा उद्योगको स्थापना भएको थियो । २८ वर्षअघि जडान गरिएको प्रविधि बारम्बार बिग्रिरहँदा उद्योगले पटकपटक क्षति व्यहोर्दै आएको थियो । उद्योगले पछिल्लो समय भारतबाट विशेषज्ञ ल्याएर मेसिन मर्मत गर्ने गरेको छ । अघिल्लो वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका दरले उत्पादन भइ रहेकोमा मर्मत सम्भारपछि यसवर्ष प्रति घण्टा ४३ मेट्रिकटनका दरले उत्पादन भएको छ । यसबाट उत्पादन बढनुका साथै विद्युत् खपतमा समेत मितव्ययिता भएको उद्योगले जनाएको छ ।

 

विशेषज्ञले अहोरात्ररूपमा खटिएर ‘ब्रेकडाउन’ कम गर्न सफल भएको उद्योगले जनाएको छ । यो अवधिमा क्लिन सेल, मिल र कोलमिलको रोलर मर्मत गरी सञ्चालनमा ल्याइएको छ । लाइनर, ड्राइफार्मलगायत उपकरण भने नयाँ जडान गरिएको छ । उद्योगमा कोइला, जिप्सन, आइरनओरलगायत इन्धन तथा कच्चा पदार्थको मौज्दात शून्य हुने अवस्था पनि अहिले समाधान भएको छ ।

 

यस्तो छ उद्योगको प्रगति विवरण

 

राष्ट्र बैंकको कडाइका बाबजूद आयात बढेकोबढ्यै, व्यापार घाटा ९ खर्ब पुग्यो Read Previous

राष्ट्र बैंकको कडाइका बाबजूद आयात बढेकोबढ्यै, व्यापार घाटा ९ खर्ब पुग्यो

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास, आगामी जेठसम्म बनिसक्ने Read Next

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास, आगामी जेठसम्म बनिसक्ने