राष्ट्र बैंकको कडाइका बाबजूद आयात बढेकोबढ्यै, व्यापार घाटा ९ खर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइका बाबजूद विदेशी वस्तु आयात झनै बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामै झन्डै १० खर्बको वस्तु आयात भएको हो ।

 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको पुस मसान्तसम्म आयात ५१.१३ प्रतिशतले बढेको छ । उक्त अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत वर्षको समीक्षा अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको सामग्री आयात गरिएको थियो ।

 

साथै, नेपालको निर्यातमा पनि वृद्धि भएको छ । गत वर्षको ६ महिनामा ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएकोमा समिक्षा अवधिमा ९५.४८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको विभागले जनाएको छ ।

 

आयात बढेसँगै व्यापार घाटा पनि चुलिएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ४६.६४ प्रतिशतले व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको हो । गत आवको ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो ।

 

कुन देशबाट कति आयात ?

 

चालु आवको ६ महिनामा १४५ देशबाट कुल ९ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको बस्तु आयात गरिएकोमध्ये सबैभन्दा धेरै भारतबाट रहेकोे छ ।

 

यस अवधिमा भातबाट मात्र ६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको विभागले जनाएको छ । दोस्रोमा चीनबाट १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।

 

यसैगरी,इन्डोनेसीयाबाट ३२ अर्ब, संयुक्त अरब इमिरेट्सबाट २७ अर्ब,अर्जेन्टिनाबाट २६,अमेरिका २२,अष्टे्रलियाबाट १५ अर्ब, युक्रेनबाट ११ र मलेसियाबाट १० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपालको भारतसँग मात्रै ५ खर्ब, चीनसँग १ खर्ब रुपैयाँ व्यापारघाटा रहेको विभागको तथ्यांकले देखाएको छ ।

 

यी हुन सबैभन्दा धेरै आयात गरिएका १० वस्तु

 

चालु आवको समीक्षा अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । पुस मसान्तसम्म ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको विभागले जनाएको छ । सबैभन्दा धेरै आयात गरिने दोस्रोमा स्वायाविन तेल रहेको छ । सो अवधिमा ३६ अर्ब ५४ करोड रुपैयाँ बराबरको सोयाविन तेल आयात गरिएको छ ।

 

यसैगरी,पेट्रोल २९ अर्ब २७ करोड,खाना पकाउने ग्यास २९ अर्ब २३ करोड, पाम तेल २७ अर्ब ४९ करोड, स्टिल २६ अर्ब ४३ करोड र मोबाइलफोन २५ अर्ब रुपैयाँ बराबरको आयात गरिएको छ ।

६ महिनामा ऊर्जा क्षेत्रमा फड्को : ४५६ मेगावाटको तामाकोशी सम्पन्न, भारतमा बिजुली निर्यात Read Previous

६ महिनामा ऊर्जा क्षेत्रमा फड्को : ४५६ मेगावाटको तामाकोशी सम्पन्न, भारतमा बिजुली निर्यात

चम्किँदै उदयपुर सिमेन्ट, उत्पादन र विक्री लक्ष्यभन्दा धेरै Read Next

चम्किँदै उदयपुर सिमेन्ट, उत्पादन र विक्री लक्ष्यभन्दा धेरै