दर्जन बढी ठूला कपडा उद्योग बन्द हुँदा २ अर्ब लगानी खेर, साना उद्योगले धान्न सकेनन् माग

काठमाडौँ । नेपालको व्यापार घाटा वर्षेनी बढ्दो क्रममा छ । अधिकांश उपभोग्य वस्तुमा विदेशमै निर्भर रहनुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्न सकिने भए पनि सरकारले ठोस कार्यक्रममार्फत उत्पादन बढाउन सकेको छैन ।

 

धेरै खपत हुने वस्तुहरू नेपालमै उत्पादन गर्न सके एकातिर व्यापार घाटा घटाउन सहयोग पुग्छ भने अर्कोतिर रोजगारी सृजना गर्न सकिन्छ । पछिल्लो समय सिमेन्ट, डण्डी लगायत केही वस्तुमा मुलुक आत्मनिर्भर पनि बनेको छ । तर, अझै पनि धेरै खपत हुने खाद्यान्न, लत्ता कपडा, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य वस्तुमा परनिर्भरता कायमै छ ।

 

आर्थिक समृद्धिका लागि मुलुकभित्र रहेका स्रोत साधनको अधिकतम प्रयोग गर्नसक्नुपर्छ । देशमा उद्योगधन्दा, कलकारखान स्थापनामा राज्यले विशेष सहयोग र सुविधा दिनुपर्छ । विडम्बना नेपालमा भने त्यस्तो हुन सकेको देखिँदैन ।

 

उल्टो भएकै उद्योग समेत बन्द भएका कैयौं उदाहरण छन् । तीमध्येकै एक हो कपडा उद्योग । पछिल्लो ३ दशकको अवधिमा मात्रै १ दर्जन बढी ठूला कपडा उद्योग बन्द भएका छन् । सो अवधिमा सरकारी र निजी लगानीका दर्जन बढी ठूला कपडा उद्योग बन्द भएका हुन् ।

 

राज्यको गैरजिम्मेवारीपन, कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव, विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा ठूला कपडा उद्योग बन्द भएका हुन् । सरकारले आवश्य सहयोग नगर्दा सरकारी लगानीको हेटौंडा कपडा उद्योगसहित अन्नपूर्ण टेक्सटाइल, अशोक टेक्सटाइल, स्टार टेक्सटाइल, गणपति टेक्सटाइल, साह उद्योग, जगदम्बा टेक्सटाइल, पशुपति टेक्सटाइल, बालाजु कपडा उद्योग लगायत ठूला उद्योग बन्द भएका हुन् ।

 

ती कपडा उद्योगहरू बन्द हुँदा दुई अर्ब रुपैयाँभन्दा बढिको लगानी खेर गएको छ । ती उद्योगबाट वार्षिक ५ करोड मिटर कपडा उत्पादन हुने गर्थ्यो भने वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढिको कारोबार हुन्थ्यो । ती उद्योग बन्द हुँदा झण्डै १५ हजारभन्दा बढिले प्रत्यक्ष रोजगार गुमाएको नेपाल कपडा उद्योग संघले जनाएको छ ।

 

‘सरकारले सहयोग गरेको भए संचालन भइराखेका उद्योग बन्द हुने थिएनन्, सरकारले कपडा उद्योगलाई कुनै सहयोग गरेको छैन,’ नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले चाणक्य पोष्टसँग भने । जुन सरकार आए पनि स्वदेशी कपडा उद्योग संचालनमा चासो नदेखाएको उनको गुनासो छ ।

 

ठूला क्षमताका उद्योग बन्द भएपछि हाल संचालनमा रहेका २५० भन्दा माथि रहेका कपडा उद्योग थोरै क्षमता भएको संघको भनाइ छ । ‘नेपालमा हाल २५० भन्दा बढी कपडा उद्योग संचालमा छन् तर तिनको उत्पादन क्षमता थोरै छ, धेरै क्षमताका उद्योग सबै बन्द भए,’ प्रधानले भने । हाल कपडा उद्योगमा २० अर्बभन्दा बढी लगानी रहेको छ भने ५० हजार बढीले रोजगारी पाएका छन् ।

 

नेपालमा वार्षिक झन्डै १ अर्ब मिटर कपडा माग हुने जनाइएको छ । सोमध्ये ७ करोड मिटर नेपालमै उत्पादन हुने र १३ करोड बढी मिटर भन्सारबाट आयात हुने गरेको छ । बाँकी केही रेडिमेड कपडा नै आयात हुने गरेको छन् भने केही अवैध बाटोबाट आउने गरेको छ ।

 

‘सरकारकै वेवास्ताको कपडा उद्योग ओरालो लाग्दै’

 

यता नेपाल कपडा उद्योग संघले पनि सरकाकै वेवास्ताको कारण कपडा उद्योग दिनानु दिन खस्कदाँे अवस्थामा रहेको बताएको छ । ‘सरकारकै कारण नेपालमा चलेका र धेरै उत्पादन क्षमता भएका धागो उद्योग बन्द भए, जसले गर्दा हामीले आत्मनिर्भर मात्र नभएर ठूलो मात्रामा निर्यात गर्न सकिने नेपाली कपडा उत्पादन गर्न सकेनौं’अध्यक्ष प्रधानले भने ।

 

सरकारले जुन हिसाबले आर्थिक समृद्धिको कुरा गर्छ, त्यही अनुरुप काम गर्ने भए धेरै सफलता हात पथ्र्यो, तर बोली एउटा व्यवहार अर्को छ, नेपाली कपडा निर्यात हुन्छ भनिन्छ, आन्तरिक माग (बजार)धान्ने गरी उत्पादन गर्न सकिएको छैन, निर्यात कसरी हुन्छ ? प्रधान प्रतिप्रश्न गर्छन्।

 

१० अर्ब बराबरको उत्पादन, ८० प्रतिशत नेपालमै खपत

 

नेपाल कपडा उद्योग संघले वार्षिक १० अर्बभन्दा बढी लागतमा कपडा उत्पादन गर्दै आएको बताएको छ । तर सरकारले यस क्षेत्रमा चासो नदिँदा उत्पादन सोचे अनुरुप नभएकोे संघको भनाइ छ । नेपालमा उत्पादन हुने कपडाको बजार भने आन्तरिक बजार नै हो ।

 

उत्पादनको २० प्रतिशत मात्र युरोप निर्यात हुने गरेको छ । ‘नेपालमा उत्पादित कपडाको ८० प्रतिशत बजार नेपाल नै हो जम्मा वार्षिक २० प्रतिशत मात्र युरोप निर्यात हुने गरेको छ,’ प्रधान भन्छन् । तर पछिललो समय नेपाली कपडा उद्योगहरूले नयाँ मेसिनको प्रयोग गरेकाले स्तरीय कपडा उत्पादन गर्दै आएको संघले जनाएको छ ।

 

नेपाली कपडा उद्योगहरूले सर्टिङसुटिङ्, घरायसी, तन्ना, पर्दा,सोफा कभर,स्कुल, कजेका ड्रेस लगायत कपडा उत्पादन गर्दै आएका छन् ।सरकारले स्वदेशी कपडा उद्योको विकासका लागि आवश्यक योजना बनाई व्यसायीलाई प्रोत्साहित गर्नुपर्ने संघको भनाइ छ ।

 

ठूला उद्योग बन्दा हुँदा कपास उत्पादन पनि घट्यो

 

ठूला कपाडा उद्योग बन्द भएसँगै पछिल्ला वर्षहरुमा कपडा उद्यागेको लागि प्रमुख कच्चा कपास उत्पादन पनि घट्दै गएको छ । कपास प्रयोग गरी कपडा तथा धागो बनाउने उद्योगहरु नै बन्द भएपछि यसको उत्पादन घट्दै गएको हो ।

 

कपास प्रयोग गर्ने ठूला उद्योगहरु बन्द हुनु, साना उद्योगले न्यून मात्र खपत गर्नु, उत्पादन भएको कपास विक्री समेत हुन छाड्नु लगायत कारणले यसको उत्पादन वर्षेनी घट्दै गएको हो ।

 

पछिल्लो समय कपास उत्पादन र प्रयोग समेत घटेको कपास विकास समितिले जनाएको छ । ‘विगतमा जुन प्रकारका कपासजन्य उत्पादनका उद्योग थिए (धागो तथा कपडा कारखाना) त्यस्ता उद्योग पछिल्लो समय बन्द भए, जसको कारण उत्पादनमा समेत कमी आयो,’ कपास विकास समितिका कार्यकारी निर्देशक बुद्धबहादुर थापाले चाणक्य पोष्टसँग भने ।

 

विगतमा वार्षिक ३६ सयदेखि ४ हजार मेट्रिकटन कपास उत्पादन हुँदै आएकोमा हाल ७० मेट्रिकटनमा खुम्चिएको समितिले जनाएको छ ।

 

 

सन् २०२५ सम्म चीनमा उच्च गतिको रेलमार्ग ५० हजार किलोमिटर पुग्ने Read Previous

सन् २०२५ सम्म चीनमा उच्च गतिको रेलमार्ग ५० हजार किलोमिटर पुग्ने

सेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

सेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी