नाफामा नबिललाई उछिन्दै एनआइसी र ग्लोबल, ५ महिनामा कुन बैंकले कति कमाए ?

काठमाडौं । मंसिरमा वाणिज्य बैंकहरुको खुद नाफा १६ प्रतिशतले बढेको छ । तरलता अभावका बाबजूद वाणिज्य बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.२४ प्रतिशतले वृद्धि गर्न सफल भएका हुन् ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको ५ महिना (मंसर मसान्तसम्म) २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा ३ अर्ब ९४ करोड बढी हो । गत वर्ष मंसिरसम्म बैंकहरुले २४ अर्ब २६ करोड रुपैयाँ कमाएका थिए ।

 

चालु वर्ष कात्तिकको तुलनामा भने बैंकहरुले नाफा २० प्रतिशतले बढाएका छन् । कात्तिकसम्म २३ अर्ब ५२ करोड नाफा कमाएका बैंकहरुले मंसिरसम्म २८ अर्ब २० करोड रुपैयाँ नाफा कमाएका हुन् । मंसिर महिनामा मात्रै बैंकहरुले ४ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

 

चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुले औसतमा १ अर्ब ४ करोड नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो । गत वर्ष मंसिरसम्म औसतमा ८९ करोड रुपैयाँ नाफा कमाएका थिए ।

 

समीक्षा अवधिमा एनआइसी एशियाले सबैभन्दा धेरै २ अर्ब र सेञ्चुरी कमर्शियलले सबैभ्न्दा कम ४० करोड नाफा कमाएको छ ।

 

नबिललाई पछि पार्दै एनआइसी र ग्लोबल

 

चालु वर्षको ५ महिनाको तथ्यांक अनुसार खुद नाफामा नबिल बैंकलाई एनआइसी एशिया र ग्लोबल आइएमई बैंकले पछि पारेका छन् । वर्षौंदेखि खुद नाफामा शीर्ष स्थानमा रहँदै आएको नबिललाई मंसिरमा ग्लोबल र एनआइसीले पछि पारेका हुन् ।

 

पछिल्लो समय आक्रमक कर्जा विस्तार गर्दै आएको एनआइसीले नबिललाई चालु आवको पहिलो त्रैमासदेखि पछि पार्न थालेको हो । चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमईले आक्रमक कर्जा विस्तारसँगै नाफामा नबिललाई पछि पारेको हो ।

मंसिरसम्म २ अर्ब नाफा कमाउँदै एनआइसी एशिया सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ । एनआइसीले सो अवधिमा नबिलकोभन्दा ११ करोड रुपैयाँ नाफा कमाएको हो । नबिलले यस अवधिमा १ अर्ब ८९ करोड नाफा कमाएको छ ।

 

त्यस्तै, ५ महिनाको अवधिमा ग्लोबल आइएमई बैंकले पनि नबिलकोभन्दा ७ करोड रुपैयाँ धेरै नाफा कमाएको छ । मंसिरसम्म ग्लोबलले १ अर्ब ९६ करोड नाफा कमाएको छ ।

 

११ बैंक अर्बपति क्लबमा

 

चालु आवको ५ महिनामा ११ ओटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । समीक्षा अवधिमा ११ ओटा र्बैंकले १ अर्ब बढी नाफा कमाएका हुन् । यसअघि प्रथम त्रैमासिकमा ५ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका थिए ।

 

मंसिरसम्म सबैभन्दा धेरै नाफा कमाउन सफल भएको एनआइसी एसीया बैंकले २ अर्ब ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड, नबिल १ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८८ करोड, प्राइम कमर्सियल बैंक १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् ।

 

यसैगरी,प्रभु बैंकको खुद नाफा १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समान १ अर्ब ३३ करोड, मेगा बैंक १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट 'क्यालिब्रेसन फ्लाइट' गरिने Read Previous

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट 'क्यालिब्रेसन फ्लाइट' गरिने

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी