काठमाडौं । भैरहवास्थि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ए३२०/३३० जहाजबाट परीक्षण उडान गर्ने तयारी गरेको हो ।
उक्त जहाज नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रविन न्यौपानेका अनुसार विमानस्थल सञ्चालनका लागी क्यालिब्रेसन (जमिनमा रहेका पूर्वाधारको अवस्था सहि गलत छुट्टाउने प्रविधि) गर्ने कार्य सुरु गर्न लागिएको हो ।
हाल भैरहवामा मौसम कुहिरोले ढाकिएको र खुल्ला नहुँदा फागुन पहिलो सातातिर फ्लाइट क्यालिब्रेसन गरी योजना रहेको उनले बताए ।
‘मौसमविदहरुसँग ३ वर्ष अघिदेखिको विवरण माग गरिएकोछ, त्यस अनुसार फागुनबाट मौसम सफा हुने अनुमान गरिएको छ । मौसम सफा भए लगतै फ्लाईट क्यालिब्रेसन सुरु गरिनेछ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।
प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनमा ल्याउन ‘मिसन भैरहवा विमानस्थल’ सुुरु गरिएको छ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले पाएको छ । उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको छ । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।
सो कम्पनीबाट २४ जनवरीमा विशेषज्ञको टोली नेपाल आउँदैछ । टिमले २५ जनवरीबाट काम सुरु गर्नेछ । उक्त कम्पनीले दिएको अनुमानित मिति अनुसार १० फेब्रुअरी वा यस आसपासको दिनमा उपकरणजडित विशेष जहाज नेपाल ल्याइने छ । उक्त जहाजबाट यान्त्रिक उपकरणहरुले काम गरे–नगरेको अध्ययन गरिने छ । त्यसको एक/दुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गर्ने गरी कार्यतालिका बनेको जनाइएको छ ।
क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने भएको छ । क्यालिब्रेसन फ्लाइटबाटै उपकरणहरुले काम गरे/नगरेको पत्ता लाग्ने ठाकुरले जानकारी दिए । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका संचारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ । यसअघि गत डिसेम्बरमै क्यालिब्रेसन उडानको तयारी गरिएको थियो ।
क्यालिब्रेसन उडान र परीक्षण उडानपछि विमानस्थल संचालनका लागि योग्य बन्ने छ । परीक्षण सफल भएपछि आन्तरिक उडान नयाँ धावनमार्गबाटै गरिने छ । तर, तत्कालका लागि विदेशी उडान भने गरिने छैन ।
अन्तर्राष्ट्रिय उडान अगाडी कम्पनीहरुबाट ५६ दिनको समय राखेर प्रस्ताव आह्वान गर्नुपर्ने प्रावधान रहेकाले तत्काल अन्तर्राष्ट्रिय उडान सम्भव नभएको हो ।