काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाताको सुरुका दुई दिनमै ९० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५४ करोडले बढेर झन्डै साढे ८ अर्ब पुगेको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.३२ प्रतिशतले बढेको छ भने व्यापार २.६३ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २२४ कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ । ४ कम्प्नीको मूल्य स्थिर रहेको छ ।
आज अपी पावर सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली साढे २५ करोड र नेपाल टेलिकम २५ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सको डिबेञ्चर, पञ्चकन्या माइ हाइड्रोपावर, खानीखोला, सिन्धु विकास बैंक, जानकी फाइनान्स, श्रीइन्भेष्टमेन्ट र आइसीएफसीको डिबेञ्चरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले घटेको छ ।
त्यस्तै, युनियन हाइड्रोपावर, नारायाणी विकास बैंक, कामना सेवा विकास बैंक लगायत २ दर्जन कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । घट्दो बजारमा आज सामलिङ पावरका सेयरधनीले सबैभन्दा धेरै ९.४९ प्रतिशत कमाएका छन् ।