काठमाडौं । पछिल्लो समय खाना पकाउने एलपी ग्यासको मूल्य लगातार वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
दैनिक अत्यावश्यक वस्तु ग्यासको मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन् । तर सरकारले भने आफूसँग भएको स्रोत साधन उत्खनन तथा प्रयोगमा भने कुनै चासो देखाएको छैन ।
खानी तथा भूगर्भ विभागले २०४७ सालमै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ग्यास भएको बताएको थियो । तर, सरकार हालसम्म ग्यास भएका ठाउँमा उत्खनन तथा प्रयोग गर्न कुनै चासो देखाएको छैन ।
‘विभागले काठमाडौंको २६ वर्ग किलोमिटर भित्र वायोजनिक ग्यास छ भनेर जानकारी गराएको थियो, त्यसको उत्खनन, प्रयोगमा सरकारले कुनै चासो देखाएन । प्रयोगमा नआएपछि ५ हजार घरलाई २० वर्ष पुग्ने ग्यास खेर गहिरहेको छ,’ विभागका प्रवक्ता जयराज घिमिरेले चाणक्य पोष्टसँग भने ।
विभागले ग्यास छ भनेर पत्ता लगाएको ठाउँमा होल बनाएर ब्यवस्थित गरेको बताए पनि त्यो लामो समयसम्म रहन नसक्ने प्रवक्ता घिमिरेको भनाइ छ ।
काठमाडौंको कुन-कुन ठाउँमा छ ग्यास ?
काठमाडौंको केन्द्र रत्नपार्क, कालिमाटी, इमाडोल, ग्वार्को, लैनचौर लगायत २६ वर्ग किलोमिटर भित्र वायोजनिक ग्यास भएको विभागले जनाएको छ । ती ठाउँहरुमा ३० (३०० मिलियन) घनमिटर ग्यास रहेको विभागको अनुमान छ । उक्त ग्यास प्रयोगमा ल्याउन सके ५ हजार परिवारलाई २० वर्षसम्म पुग्ने विभागको दाबी छ ।
उपत्यकामा रहेको ग्यास सिलिण्डरमा भर्न भने नमिल्ने विभागले जनाएको छ । ‘उपत्यकामा ग्याससँगै (६० प्रतिशत ग्यास र ४० प्रतिशत पानी) पानी छ भन्ने अनुमान गरिएको थियो । यसलाई सिलिन्डरमा राख्न सकिँदैन्, यसलाई घरघरमा पाइपलाईन मार्फत सप्लाई गर्न सकिन्छ,’ प्रवक्ता घिमिरेले बताए ।
उत्खनन र प्रयोगमा वेवास्ता
खानी विभागले ३० वर्ष अघि नै उपत्यकाका विभिन्न ठाउँमा ग्यास रहेको पत्ता लगाए राज्यकै वेवास्ताका कारण हालसम्म उत्खनन हुन सकेको छैन । ३ दशकको अवधिमा दर्जनौं सरकार फेरिए पनि यो कुनै पनि सरकारको प्राथमिकतामा परेको छैन ।
सरकारले वर्षेनी अर्बौं रुपैयाँको ग्यास आयात गरिरहेको छ । तर, आफैसँग भएको स्रोतको प्रयोगमा भने कुनै चासो देखाएको छैन अर्थात् नजरअन्दाज गरेर बसेको छ ।
विभागले यो ठाउँमा ग्यास छ भनेर जानकारी दिने हो, दिएको पनि छ । समय समयमा ग्यास उत्खनन तथा प्रयोगको लागि अनुरोध गरेको छ । तर कुनै पनि सरकारले चासो देखाएका छैनन्, विभागको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले घरघरमा पाइपलाइनबाट ग्यास पुर्याउने आश्वसान दिएका थिए । तर, आफैले देखाएको सपना साकार पार्न उनले एककदम पनि काम अघि बढाएनन् । उनको पालामा ग्यास उत्खनन तथा अध्ययनका लागि कुनै काम अघि बढ्न सकेन ।
लामो समयसम्म सरकारको वेवास्ताका कारण अब ती ठाउँमा उत्खनन गर्न सम्भव होला कि नहोला भन्ने अन्योलता बढेको छ । पछिल्लो समय ती ठाउँहरुमा बस्ति विस्तार, पूर्वाधार निर्माण भएकाले त्यो सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न जन्मिएको छ । कतिपय ठाउँमा विगतको तुलनामा मात्रा घटेको छ । विगतमा १४ वटा ठाउँमा ग्यास छ भनेर १४ ठाउँमा टेष्ट होल निर्माण गरेको र त्यसको आधारमा प्रोडक्सन होल राखिएको विभागको बताएको छ ।
१४ वटा होल मध्ये गत वर्ष टेकु र इमाडोलमा पुनः परीक्षण गर्दा ग्यासको मात्र घटेको बताइएको छ । पूर्व निर्धारण भएको ठाउँमा ग्यासको अवस्था कस्तो छ भनेर पुनः परीक्षण गर्नुपर्ने विभागको भनाइ छ । यसबाट पनि पुष्टि हुन्छ कि अत्यावश्यक र हामीसँग भएको वायोजनिक ग्यास उचित व्यवस्थापन नहुँदा खेर गहिरहेको छ । ग्याससँगै त्यहाँबाट निस्किने पानी समेत प्रयोग गर्न सकने जानकारहरु बताउँछन् ।