काठमाडौं । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा शुक्रबार सम्पन्न भएको हो ।
उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गरेको छ ।
त्यस्तै, सभाले आव २०७८/७९ को लेखापरीक्षण गर्नको लागि “एनबीएसएम एण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गरेको छ । साथै, सभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेनिर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।