काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १३ औं वार्षिक साधारण सभा आगामी असोज १० गते बोलाएको छ । बैंकको साधारण सभा अमृतभोग, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे शुरु हुनेछ ।
बैंकको साधरण सभामा गत वर्षको नाफाबाट घोषित १५% लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंक सञ्चालक समिति बैठकले गत वर्षको वितरण योग्य नाफाबाट १२% नगद लाभांश र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको छ ।
बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
यस्तै, सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५/७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गर्ने, उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि सभामा लैजाने भएको छ ।
सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते मंगलबार बुक क्लोज गर्नेछ । भदौ ३० गते सम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने र सभामा सहभागिता जनाउन पाउने छन् ।