कुनै पनि बिषयको विश्लेषण आफैंमा निस्पक्ष र निरपेक्ष हुँदैन । विश्लेषकका वैचारिक, सैद्धान्तिक र दार्शनिक झुकावले उसले गर्ने विश्लेषणलाई प्रभाव पारिनै हाल्छ । वा, कुनै पनि वैचारिक झुकाव विना त विश्लेषण नै गर्न सकिदैन भन्दा पनि हुन्छ ।
तर, जब वैचारिक–सैद्धान्तिक झुकावभन्दा धेरै नै तल झरेर निहित व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर ‘विश्लेषण’ गर्न थालिन्छ तब ‘विश्लेषक’ स्खलित हुन्छ र त्यसको मूल्य उसले ‘विश्लेषण’ गरेको समग्र क्षेत्रले चुकाउनुपर्ने हुन्छ ।
नेपालका सबै क्षेत्रमा धुमधडाक ‘विश्लेषक’हरु छन् । राजनीतिक–सामाजिक क्षेत्रमा अखबारका पानाहरुमा विगत २५–३० वर्षदेखि निरन्तर ‘विश्लेषण’ गर्दै आएका ‘विश्लेषक’हरु अहिले पनि सक्रिय नै छन् । थाकेका छैनन् । अखबारहरुले पनि नयाँलाई ठाउँ दिएका छैनन् ।
नेपाली सेयर बजार भुत्ते भएको र यहाँ मानिसहरुको पैसा डुबेका बारे सिके लालले टिप्पणी गर्नेवाला छैनन् । खगेन्द्र संग्रौलाले पनि विश्लेषण गर्ने छैनन् । सौरभलाई पनि चासै छैन ।
नेपालको राजनीतिक-सामाजिक क्षेत्रका धारणाहरु अहिले पनि उनीहरुले नै बनाइरहेका छन् ।
व्यक्तिगत वा पार्टिगत स्वार्थका लागि उनीहरु कतिपय समयमा निकै नै तल झरेर लेख्दै पनि आएका छन् । एकजना पाका तर, सक्रिय पत्रकारको विवेक शिथिल भएको थियो चुनाव ताका ।
तर, जे–जस्तो भए पनि यो क्षेत्रका विश्लेषकहरुको बौद्धिक परम्परा अन्य क्षेत्रका विश्लेषकहरुका भन्दा समृद्ध छ । त्यसैले उनीहरु राष्ट्रिय स्तरमा आफ्ना धारणाहरु स्थापित गर्न सक्ने भएका छन् । राज्य सत्तालाई प्रभावित र हस्तक्षेप गर्न सक्ने भएका छन् ।
सेयर विश्लेषक
नेपालमा सेयर ‘विश्लेषक’ ह्वात्तै बढेका छन् । यस्ता सेयर ‘विश्लेषक’ नेपाली सेयर बजारको पछिल्लो ‘बुल रनमा’ (सूचक १८८१ पुगेका ताका) उम्रेका हुन् ।
उनीहरु त्यत्तिबेला आफुले हालेको थोरबहुत पैसा दिन दुईगुणा रात चारगुणा भएर बढ्न थालेपछि रमाएर सेयर विश्लेषक भएका हुन् ।
नेपालमा अहिले दुईथरि सेयर ‘विश्लेषक’ भेटिन्छन् । पछिल्ला बुल रनमा सेयर बेचेर उम्कन सफल भएका ‘विश्लेषक’हरु सेयर बजार अझै घट्ने ‘विश्लेषण’ गरेर अन्य लगानीकर्ताहरुलाई अत्याउँदै आएका छन् । उनीहरु बजार अझै घटे त्यत्ति बेला उम्केर जम्मा पारेको पैसाले सस्तोमा सेयर किनेर अर्को बुल रनको तयारी गर्ने ध्याउन्नमा छन् ।
खतिवडालाई ब्यक्तिगत रुपमा मन नपराउने वा प्रतिपक्ष दल प्रति झुकाव भएका संचारमाध्यमहरुले पनि यस्ता ‘विश्लेषक’हरुलाई ठाउँ दिदैं आएका छन् ।
अर्काथरी सयेर ‘विश्लेषक’ भने अरुले त्यति बेलाको बुल रनमा पैसा कमाएर रजगज गरेको देखेर बजार पसेका हुन् । दिन दुई गुणा रात चौगुणा हुनु त परै जाओस आफ्नो साँवा समेत घटेपछि उनी अत्तालिएर सेयर ‘विश्लेषक’ भएका हुन् । उनीहरुको ‘विश्लेषण’को मुल मर्म हाम्रो यत्तिका पैसा डुब्दा पनि सरकारले सेयर बजार किन बढाईदिदैंन ? भन्नेमा केन्द्रित छ । जनताको पैसाको सुरक्षा त राज्यले गर्नुपर्यो नि ! भन्ने ‘वैचारिक धरातल’मा आधारित भएर उनीहरु ‘विश्लेषण’ गर्छन् । अहिले उनीहरुको मुख्य तारो अर्थमन्त्री युवराज खतिवडा भएका छन् ।
खतिवडालाई व्यक्तिगत रुपमा मन नपराउने वा प्रतिपक्ष दल प्रति झुकाव भएका संचारमाध्यमहरुले पनि यस्ता ‘विश्लेषक’हरुलाई ठाउँ दिदै आएका छन् ।
कसले गर्ने हो सेयर विश्लेषण ? (एक पुराना लगानीकर्ताका शब्दमा)
सेयर विश्लेषण गर्ने विश्लेषकले सेयर किनबेच गर्ने गरेको हुनुहुँदैन । त्यस्तो बेलामा मात्र उसको विश्लेषण ‘सत्य’को नजिक पुग्नसक्छ । कारोबार वा लगानी नगरी विश्लेषण गर्ने मात्र त्यसले काम गर्छ । त्यो बेला तपाईं कुन प्राविधिक वा वैचारिक धरातलमा बसेर विश्लेषण गर्दै हुनुहुन्छ भन्ने कुराले पनि त्यत्ति अर्थ राख्दैन ।
तर, कारोबारी वा लगानीकर्ताले विश्लेषण गर्दा उसको विश्लेषणमा २० प्रतिशत मात्र उसको ज्ञानको अंश हुन्छ । बाँकी ८० प्रतिशत त उसको आग्रह वा पूर्वाग्रह हावी हुन्छ । किनबेचको लोभले ८० प्रतिशत हिस्सा आगटेपछि त्यो विश्लेषण कसरी सत्यको नजिक पुग्न सक्छ ?
उसको किन्ने अवस्था छ भने उसको विश्लेषण सम्पूर्ण रुपमा किन्ने उपयुक्त अवस्था भएको तथ्य निर्माण गर्न तर्फ लाग्छ । उसले आफ्नो ‘लजिक’ त्यसै गरी निर्माण गर्छ । बेच्ने अवस्थामा छ भने पनि कुरा त्यही हो ।
नेपाली सेयर बजार
नेपाली सेयर बजार परिपक्व बजार होइन । यसले नेपालका सबै तह र तप्काका मानिसहरुलाई समेट्न सकेको छैन । भन्नलाई १५ लाख लगानीकर्ता भनिए पनि दैनिक र सक्रिय कारोकारी करिब १०–१२ हजारको आसपास मात्र भएको जानकारहरु बताउँछन् ।
यहाँ अधिकांश लगानीकर्ताहरु लहै–लहैमा, जलबिद्युत आयोजनाहरुले स्थानियवासीहरुलाई सेयर दिएका कारण, अन्य क्षेत्रमा काम गर्दै यसो जगेडा भएको पैसा यता थन्क्याउनका लागि र अन्य काम नभएका र घरजग्गा कारोबार पनि खासै नभएकाले ‘गुणा’मा पैसा कमाउने उपयुक्त थलो यो क्षेत्रलाई देखेर आएका हुन् ।
यहाँ विदेशमा जस्तो कर्मचारीहरु वा कामदारहरुको निवृत्तिभणर वा संचयकोषको पैसा लगानी भएको छैन । पूँजी संकलनका लागि सबै खाले र स–साना उद्यमको लागि पहिलो रोजाइको ठाउँ पनि भइसकेको छैन । र, नेपालले अङगीकार गरेको अर्थव्यवस्थामा आफ्नो अपरिहार्यता पनि यो क्षेत्रले स्थापित गर्न सकेको छैन ।
कुनै पनि क्षेत्र स्थापित हुने र सम्मानित हुने भनेको यो क्षेत्रमा लाग्ने मानिसहरुको हैसियत र बौद्धिक क्षमताको आधारमा हो । यो क्षेत्रमा अहिले अधिकांश कस्ता मानिसहरु छन् भन्ने माथि नै थोरै चर्चा गरिहालियो ।
त्यसैले राज्य सत्ताका महत्वपूर्ण ठाउँमा बस्नेहरुले पनि यो क्षेत्रलाई त्यति ‘भाउ’ नदिएका हुन् । बाबुराम भट्टराईले यो क्षेत्रलाई जुवा घर भनिदिए । अहिलेका अर्थमन्त्रीले पनि अनुत्पादन क्षेत्र भनिदिए ।
मन्त्रीहरुको त्यस्ता अभिव्यक्तिले सेयर बजार घटायो भनेर टुकुचाको किनारमा अनसन गर्न पुगे । र, विचार र सिद्धान्त बिहिन त्यस्ता अनसनले केही थान ‘लगानीकर्ता संघ’ र बुकरे नेताहरु सिवाय केहि दिएन ।
तर, उनीहरुले त्यसो भन्दा यो क्षेत्रका ‘विश्लेषक’हरुले नेपाली समाज र अर्थव्यवस्थामा यो क्षेत्रमो अपरिहार्यता स्थापित गर्न बौद्धिक बहस छेड्न सकेनन् । नेपाली समाज पूँजीवादी अर्थव्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा त्यो व्यवस्थाको उच्चतम अभिव्यक्ति यो क्षेत्र हो भनेर बौद्धिक हस्तक्षेप पनि गर्न सकेनन् ।
बरु, मन्त्रीहरुको त्यस्ता अभिव्यक्तिले सेयर बजार घटायो भनेर टुकुचाको किनारमा अनसन गर्न पुगे । र, विचार र सिद्धान्त बिहिन त्यस्ता अनसनले केही थान ‘लगानीकर्ता संघ’ र बुकरे नेताहरु सिवाय केहि दिएन ।
विपी कोइरालाले लोकतन्त्रको आन्दोलन शुरु गर्दा नेपालमा गुलामी कानुन थियो । ‘ललाटमा लेखेर आउनेले’ राज गर्नु अन्तिम सत्य थियो । तर, उनको तिक्ष्ण बौद्धिक क्षमता र समाज, राजनीति र सम्बन्धहरुलाई बुझ्न र विश्लेषण गर्न सक्ने योग्यताकाे कारणले नै उनले नेपालको राजनीतिक इतिहासकै सर्बोच्च ठाउँ लिए । मुलुकमा लोकतान्त्रिक आन्दोलनको बौद्धिक परम्पराको संक्रमण गराए । र, नेता र राजनीतिक दलहरुको हैसियत उकासे ।
नेपाली सेयर बजार भुत्ते भएको र यहाँ मानिसहरुको पैसा डुबेका बारे सिके लालले टिप्पणी गर्नेवाला छैनन् । खगेन्द्र संग्रौलाले पनि विश्लेषण गर्ने छैनन् । सौरभलाई पनि चासै छैन ।
त्यसैले सेयर बजारका ‘विश्लेषक’ ज्यूहरु, यो क्षेत्रका बारेमा बौद्धिक बहसको परम्परा त तपाईंहरुले नै शुरु गर्नुपर्नेछ । खितखिताएर वा रोएर मात्र त केही हुनेवाला छैन !