टोलमा हजाम छन् एक जना, बिगत १५ बर्ष देखि खालि जग्गामा टहरो हालेर बसेका । मासिक ४ हजार रुपैंयाँ भाडा तिर्छन् । तर, दैनिक ५० जना भन्दा बढिको कपाल, दाह्रि काट्ने देखि लिएर अन्य सेवा समेत दिन्छन् । दैनिक कम्तिमा ५ देखि ७ हजार रुपैंयाँ चोखो बचाउँछन् । लगानी मुश्किलले ५० हजार रुपैंयाँ गरे हुनन् । १५ बर्ष अघि रौतहटबाट काठमाण्डौं छिरेका उनले ३.५ आना जग्गा किनेका छन् । र, बैंकबाट ऋण समेत जुटाएर घर बनाएका छन् ।
‘सफलता’ सापेक्षित अवधारणा हो । उनी जुन साँस्कृतिक, भौगोलिक, भाषिक र आर्थिक पृष्ठभुमिबाट आए त्यो दृष्टिकोणले उनी कुनै फरक पृष्ठभुमिबाट आएको अर्बपति ‘बनियाँ’ भन्दा कम होइनन् । उनले ब्यापार गरे । ‘सफलता’ पाए । समाजसँग जोडिएका छन् । मानिसहरुसँग सम्बन्ध गाँसेका छन् । मानिसहरुको आवश्यकता पुरा गर्नुलाई आफ्नो ब्यवसायीक धरातल बनाएका छन् । तर, ब्राण्डिङ के हो जानेका छैनन् । मार्केटिङ के हो बुझेका छैनन् । वैज्ञानिक ढंगले व्यवसायको व्यवस्थापन कुन चराको नाउँ हो थाहा छैन उनलाई ।
अब कुरा कफिको
कफि खाने चलन बढ्दो छ नेपालमा, पछिल्लो समय । युवाहरु यसतर्फ निकै नै आकर्षित भइरहेका छन् । बिदेश गएका, देखेका र सुनेका युवाहरुले टोल टोलमा र चोक चोकमा कफि पसल खोलेका छन् । मार्केटिङ गरेका छन्, त्यो पनि डिजिटल । ब्राण्डिङ पनि गरेका छन् । ब्यवस्थापन पढेका हुनाले राम्रो ब्यवस्थापन गर्न सक्छन् । तर, समाज र मानिसहरुसँग कसरी जोडिएका छन् ?, उनै जानुन् । कुनै पनि व्यवसायको बटमलाइन ‘नाफा’ कमाएका छन् कि छैनन् ?, उनैले बुझुन् । अविशेक दुलालले पनि कफिसप खोल्ने रहर गरे । पढाइ पुरा गरे । र, कफि सम्बन्धी तालिम पनि लिए ।
कफि पिउन धेरै रुची भएका उनले हिमालयन जाभामा ‘बारिस्ता’ तालिम लिए । त्यसपछि उनले हिमालयन जाभाकै कफि सपमा इन्र्टन समेत गरे । त्यसपछि उनले जाभाका मालिक गगन प्रधानको सल्लाहामा उनले कफी पसल खोल्ने योजना बनाए । प्रधानलाई गुरु मानेका उनले बानेश्वरमा ३० लाख लगानीमा आकर्षक कफी सप किने ।
त्यसको सञ्चालन गरेको ६ महिनामा उनले अर्को राम्रो अफर पाए । कफी सप किन्न आएको अर्को प्रस्तावलाई उनले नकार्न सकेनन् र दरवारमार्गमा अर्को कफी सप किने ।
कफीलाई विस्तार गर्दै लैजाने सोचमै उनले ७५ लाख रुपैयाँ लगानीमा म्याजीक बिन्स कफी सप सञ्चालनमा ल्याए । ८ लाखको कफी मेसिन राखिएको छ कफी सपमा । उनले अर्गानीक कफीका दानाबाट मात्र कफी बनाउने गर्छन । उनी मौका पाए अन्य पर्यटकीय क्षेत्रमा समेत कफी सप सञ्चालन गर्ने योजना रहेको बताउछन् ।
‘कफी सप सञ्चालन गरेर छाटो समयकमै लगानी उठाउँछु भनेर आउनेलाई यो क्षेत्रमा गाह्रो छ, त्यसको लागि धैर्यता हुनुपर्छ र प्यासन पनि चाहिन्छ,’ अविशेकले चाणक्य पोष्टसाग भने ।
उनले मानिसहरुले कफी पसल खोलेर ध्यान नदिने र कर्मचारीको हातमा छोड्ने गर्नाले समेत समस्या उत्पन्न गर्ने गरेको बताए । सामान्य कफी सप १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ सम्ममा सञ्चालन गर्न सकिने उनी बताउछन् । झण्डै १० देशको कफी चाखेका उनले नेपालमा सबैभन्दा गुणस्तररिय कफी पाइने बताए । उनले नेपाली समाजमा कफी भन्दा चिया बढि पिइने संस्कार भए पनि पर्यटन आकर्षणका लागि यो निकै उत्कृष्ट रहेको बताए ।
नेपालीहरुमा समेत आजभोली कफीको आकर्षण बढ्दो रहेको उनले बताए । भेटघाट तथा हरेक काम–कुरामा कफी सपमा जाने संस्कार विकास हुदै गएकाले कफी मन नपराउनेले समेत कफी पिउन थालेको उनले बताए ।उनले आफ्नो सपमा झण्डै ५० प्रकारको कफी बनाउने गर्छन् । त्यसका साथै चिया, केक, पेस्ट्रीज र स्याडविच समेत विक्री गर्ने गरेका छन् ।
कफीको सट्टा किन चिया पसल गर्नु भएन, नेपालमा त धेरै चिया नै रुचाइन्छ नी ? भनेर सोध्दा उनले आफुले धेरै खाने र कहिल्यै नखाने दुई कुराको व्यवसाय नगर्ने गरेको बताए । तर, व्यवसाय उनको रुची वा अरुचि भन्दा पनि ग्राहकको रुची र अरुचिले चल्ने वा नचल्ने निर्धारण गर्छ भन्ने कुरा उनले बुझेका होलान् । उनले आफ्नो कफी सपमा ११ जनालाई रोजगार दिएका छन् । उनको पसलमा न्यूनतम १ सय ५० देखि ३ सय २० रुपैयाँ सम्मको कफी पिउन सकिन्छ । उनले छोटो समयमा आफ्नै लगानीमा कफी व्यवसाय गरेका हुन् । नेपालमा कफी कल्चर बढ्दै गरेको तर, मानिसहरु तत्कालै पसलले गति नलिने बित्तिकै पसल बेच्ने गरेको उनको बुझाई छ । धैर्यता नहुने मानिसहरुमा कफी सप सञ्चालन केही समयको आकर्षण मात्र बन्ने गरेको उनले जानकारी दिए ।
नेपालमा पछिल्लो समय कफि पिउने र कफि पसल खोल्ने चलन बढ्दो छ । तर, यसको जरा कति गहिरो छ भनेर बुझ्न केही समय पक्कै पनि लाग्ला । यो ग्ल्यामर वा व्यवसाय के हो ? अथवा यसमा व्यवसायको अंश कति छ भनेर अविशेक दुलालहरुले भविष्यमा पत्ता लगाउने नै छन् । ग्लायामर रहेछ भने आफ्नो चतुर्याईं र व्यवसायीक कौशलले व्यवसायमा बदल्न अबिशेकहरु सक्षम छन् भन्ने बिश्वास गर्न सकिन्छ ।
माथी उल्लेखित प्रतिनिधि पात्र कपाल काट्ने ‘ठाकुर’को व्यवसाय र ‘सफलता’ले अबिशेक दुलालहरुलाई व्यवसायको मुल मर्म र बटमलाइन बुझ्न भने पक्कै पनि मद्दत गर्छ । सिक्न त ठाकुरहरुले पनि अबिशेकहरुबाट केही सिक्न सक्न सक्छन् । तर, उनीहरुलाई भने त्यो सुबिधा उपलब्ध छैन ।