दुई मोटेरबल पुल निर्माण शुरु

म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।

 

मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल बनाउन शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले बताए । मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको छ ।

 

फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले १ करोड ९३ लाख रुपैयाँमा ठेक्का पाएको छ । गत साउनमा ठेक्का सम्झौता भएको दुई वटै पुल १८ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रै पुल बनाइसक्ने बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताए।

 

निर्माण कम्पनीले पुलको फाउण्डेशन (जग) खन्न शुरु गरेका छन् । दुईतर्फ एक/एक मिटर फुटपाथ हुने पुलको गाडी गुड्ने भागको चौडाइ छ मिटर हुनेछ । भारवाङघाटको पुल प्रिस्टेस र फेदीको पुल टिबिएम प्रविधिको हो ।

 

बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भए पनि म्याग्दी खोलामा पुल निर्माण हुन नसक्दा प्रयोगमा आउन सकेको छैन ।

 

यसको विकल्प मानिएको दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत फेदीखोलामा धवलागिरी गाउँपालिकाले अघिल्लो वर्ष अस्थायी पुल बनाएको थियो । दुई वटै पुलले धवलागिरि गाउँपालिकालाई सिधा सडक सञ्जालमा जोड्ने अध्यक्ष थमसरा पुनले बताए ।

 

ती पुल निर्माणपछि बाह्रै महीना नियमित सवारी सञ्चालन गर्न सकिनेछ । यसैबीच पूर्वाधार विकास कार्यालयले दरवाङदेखि फेदी हुँदै धारापानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ ।

 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का प्रक्रियाको तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । कार्यालयले बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङसम्म दुई प्याकेजमा कालोपत्र आयोजना सञ्चालन गर्ने भएको हो ।रासस

सिटिजन्स बैंकले असोज १० मा डाक्यो साधरण सभा, कहिले हुँदैछ बुक क्लोज Read Previous

सिटिजन्स बैंकले असोज १० मा डाक्यो साधरण सभा, कहिले हुँदैछ बुक क्लोज

दशैंको टीकाको साइत बिहान १०:३५ बजे Read Next

दशैंको टीकाको साइत बिहान १०:३५ बजे