व्यापार घाटा ५५ प्रतिशत बढ्यो, ५ महिनामै ७ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिना वैदेशिक व्यापार घाटा ५४.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिरसम्ममा व्यापार घाटा बढेर सवा ७ खर्ब पुगेको हो ।

 

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल ७ खर्ब ३८ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४.७० प्रतिशतले बढेको विभागले जनाएको छ । गत आवको मंसिरसम्म नेपालले ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख रुपैयाँ व्यापार घाटा बेहोरेकोे थियो ।

 

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा वस्तु आयात ५९.५५ प्रतिशतले वृद्धि भएको हो ।

 

समीक्षा अवधिमा निर्यात पनि दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा चालु आवमा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म ५० अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

 

नेपालले ५ महिनामा कुल ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैेदेशिक व्यापार गरेको छ । गत वर्षको तुलनामा चालु आवको वैदेशिक व्यापार ६३।५५ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म कुल ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।

 

भारतबाट मात्रै ५ खर्बको आयात

 

चालु आवमा १४४ देशबाट ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको हो । सोमध्ये भारतबाट मात्रै ५ खर्ब ३९ करोड रपैयाँको सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

 

भारत पछि ठूलो मात्रामा चीनबाट वस्तु आयात भएको छ । चीनबाट १ खर्ब २२ अर्ब रुपैयाँको सामान आयात भएको छ । यसैगरी इन्डोनेिसयाबाट २९ अर्ब, अर्जेन्टिनाबाट २४ अर्ब, यूएईबाट २३ अर्ब र अमेरिकाबाट १८ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

एनसीसी बैंकको साधरण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित Read Previous

एनसीसी बैंकको साधरण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घट्यो Read Next

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घट्यो