वित्तीय अस्थिरताका कारक : अदूरदर्शी नियामक र नाफामुखी बैंक

काठमाडौं । प्रायःजसो नेपाली बैंकिङ क्षेत्र अस्थिर र समस्यामा रहने गरेको देखिन्छ । समग्र अर्थतन्त्रलाई डोर्याउने बैंक तथा वित्तीय क्षेत्र अस्थिर हुँदा मुलुकको आर्थिक गतिविध नै प्रभावित हुने गर्छ । यसले आम जनाताको दैनिकीदेखि आर्थिक वृद्धिमा समेत प्रत्यक्ष असर पार्छ ।

 

यसो हुनुको मुख्य कारण भने नियामक निकाय नेपाल राष्ट्र बैंक र स्वयम् बैंकहरु नै रहेका छ । राष्ट्र बैंकले तय गर्ने नीति र बैंकहरुको नाफामुखी व्यवसाय संचालन गर्ने तरिकाले वित्तीय क्षेत्रमा समस्या उत्पन्न हुने गरेका छन् ।

 

नियामकले पनि कुनै नीति तय गर्दा दूरगामी असरको आकलन गरेको देखिँदैन भने बैंकहरुले पनि व्यवस्थितभन्दा पनि अन्धाधुन्ध कर्जा प्रवाह गर्ने गरेका छन् । जसले चरम तरलता संकट, ऋण नपाउने अवस्था सृजना हुँदा आर्थिक गतिविधि नै प्रभावित हुने गर्छ ।

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको नियमन, मार्गदर्शन, पारदर्शीता र सुशासनको लागि वर्षेनी मौद्रिक नीति जारी गर्ने गर्दछ । सोही नीतिका आधारमा आर्थिक वर्षभरी बैंकिङ क्षेत्र संचालन हुन्छ । तर, नियामकले बनाएको नीतिको कार्यान्वयन भएको देखिँदैन ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी व्यवस्था खारेज गर्दै सीडी व्यवस्था लागू गर्यो । सोही व्यवस्थाले चरम तरलता भोग्नु परिरहेको बैंकहरुले नै बताउने गरेका छन् । कोरोनाबाट शिथिल अर्थतन्त्र उकास्न सहयोग हुनु पर्नेमा उल्टो सहजै ऋण नपाउने अवस्था सृजना भएको व्यवसायीहरु बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रको जोखिम कम राष्ट्र बैंकको योे व्यवस्था राम्रो भए पनि तत्काल भने नकारात्मक असर परेको देखिन्छ । यो नीति तय गर्दा राष्ट्र बैंक दूरगामी असर र प्रभावको आकलन नगरेको देखिन्छ ।

 

एकातिर राष्ट्र बैंकले दिर्घकालीन योजना बनाउन नसकेको देखिन्छ भने अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नीति पालना गरेको देखिँदैन । यसको उदाहरण हो बैंकहरुले गरेको आक्रमक कर्जा विस्तार । तरलता अभावका बीच बैंकहरुले चालु आवको पहिलो त्रैमासमा लक्ष्यको ५० प्रतिशत कर्जा विस्तार गरे । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रको कर्जा विस्तार लक्ष्य १९ प्रतिशत लिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको पहिलो तीन महिनामै लक्ष्यको ५० प्रतिशत कर्जा विस्तार गरिसकेका थिए ।

 

राष्ट्र बैंकको लक्ष्य अनुसार चालु वर्षमा कुल ७ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी गर्नुपर्ने थियो । तर बैंकहरुले पहिलो तीन महिनामै लक्ष्यको आधा अर्थात् ३ खर्ब २१ कर्जा लगानी गरे । यसले बैंकहरुले पनि नाफा कमाउनकै लागि राष्ट्र बैंकको निर्देशनलाई व्यवस्था गरेको देखिन्छ ।

 

सुरुमा अन्धाधुन्ध कर्जा लगानी गरेकै कारण अहिले बैंकहरुबाट कर्जा नपाउने अवस्था रहेको छ । पहिलो ३ महिनामै ३ खर्ब २१ अर्ब ऋण लगानी गरेका बैंकहरुले पछिल्लो ३ महिनामा भने जम्मा ६७ अर्ब मात्र कर्जा विस्तार गरेका छन् । बैंकहरुले आफूसँग पैसा हुँदा अन्धाधुन्ध दिने र नहुँदा कर्जा लगानी नै ठप्प पार्ने गरेको देखिन्छ । बैंकबाट माग अनुसार कर्जा नपाउने अवस्था भएपछि उद्योग, व्यपार, व्यवसाय संचालनमा असहजता ल्याएको छ ।

 

‘हचुवामा बनाइने नीतिले समग्र अर्थतन्त्रलाई नै असर पार्छ’

 

नियामक निकायले पर्याप्त अध्ययन, अनुसन्धान र दुरगामी असरको आकलन नगरी हचुवाका भरमा बनाउने नीतिले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रलाई असर पार्ने जानकारहरु बताउँछन् । अर्थविद् डिल्लीराज खनाल मुलुकको अर्थतन्त्र, आवश्यकता र खपतका सूचकको हिसाब बिना कर्जा प्रवाहको लक्ष्य निर्धारण गर्दा लक्ष्य र कर्जा प्रवाहको बीच तादम्यता नदेखिएको बताउँछन् ।

 

‘त्यो प्रक्षेपणको आधार केको मापण्ड बनाएर गरिन्छ भन्ने एउटा प्रश्न त छँदै छ’ उनी भन्छन्, ‘राष्ट्र बैंकले जुन दूरदर्शिता भित्र रहेर नियमन गर्नुपर्ने हो त्यो चाँही नभएको स्थिति छर्लङ्ग भएको छ ।’

 

कोरोनाले शिथिल बनेका व्यापार व्यसायलाई उकास्न धेरै कर्जा प्रवाह हुनु ठीकै भएपनि राष्ट्र बैंकको लक्ष्य एकातिर र कर्जाप्रवाह अर्कोतिर देखिन्छ । यसले नियामकको भूमिका कमजोर देखिएको उनले बताए ।अनियन्त्रित कर्जा प्रवाहले तरलता संकट, मुद्रास्फीति, ब्याजदर वृद्धिले लयमा फर्किन लागेका व्यापार व्यवसायमा प्रतिकूल असर पार्ने खनाल बताउँछन् ।

 

नाफा केन्द्रित बैंकहरु

 

बैंक तथा वित्तीय संस्थाहरु पहिलो त्रैमासमै कर्जा विस्तारमा आक्रामक देखिन्छन् । आर्थिक वर्षको सुरुमै अनियन्त्रित कर्जा प्रवाहले बजारमा तरलता संकट हुने गरेको विज्ञहरु बताउँछन् । अनुत्पादक क्षेत्रमा आक्रामक कर्जा विस्तार गर्दा यस्तो समस्या आउने गरेको उनीहरुको भनाइ छ ।

 

नेपाली बैंकिङ प्रणलीको ट्रेन्ड हेर्दा साउनदेखि असोजसम्म आक्रामक कर्जा विस्तार, त्यसपछि कात्तिकदेखि माघसम्म तरलता अभावले ब्याजदर बढाउने होडबाजी र चैतदेखि असारसम्म ऋण लगाएको कर्जा रिकभर गर्ने गरेको परिपाटि देखिन्छ । जसको कारण बैंकहरु लगानीभन्दा पनि बिना जोखिम नाफा कमाउनमा मात्रै केन्द्रित रहेको भनेर आलोचना समेत हुने गरेको छ ।

 

यसरी वर्षभरिमा विस्तार गर्नुपर्ने कर्जा आधा महिनावर्षमै सकेर त्यसपछि लगातार ब्याजदर वृद्धि मात्रै गर्ने गरेको देखिन्छ । बैंकहरुले लगातार ब्याजदर बढाउन थनलेपछि गत कात्तिकमा राष्ट्र बैंकले एकल अंकमै राख्न निर्देशन नै जारी गरेको थियो ।

 

बैंकर अनलराज भट्टराई बैंकको नाफा कमाउने प्रवृत्ति भएको भन्न नमिल्ने बताउँछन् । ‘बैंकले करिब १६ लाख मासिलाई कर्जा दिएको छ । तिनीहरुको कारोबार र नाफा जोड्यो भने बैंकको नाफा न्यून छ,’ उनले भने ।

 

आयातमुखी अर्थतन्त्र भएकाले कर्जा विस्तार बढेको र त्यसको असर तरलतामा देखिएको भट्टराई बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र खाद्यान्न लगायत वस्तुहरुको बढ्दो आयातले बैंकहरुको कर्जा लगानी बढेको उनको भनाइ छ ।

 

अब ‘किअस्क’ मेसिनबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने, यसरी तिर्नुहोस् Read Previous

अब ‘किअस्क’ मेसिनबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने, यसरी तिर्नुहोस्

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो Read Next

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो