काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना प्रभु-पेको ‘किअस्क’ मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् ।
महाशाखाले सुरुआती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।
पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर कोडमार्फत समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।
एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।
उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।
ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमशः परिस्कृत गर्दै बुधबारदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।
कसरी तिर्ने मेसिनबाट जरिवाना ?
सर्वप्रथम प्रभु-पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस ।
त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरी नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपछि प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।