काठमाडौैं । पछिल्लो एक सातामै बैंकिङ प्रणाली (वाणिज्य बैंकहरू)मा ५९ अर्ब निक्षेप थपिएको छ । चरम तरला अभाव भोगिरहेकै बेला बैंकहरूमा एकैपटक ठूलो रकम निक्षेप भित्रिएको हो ।
पछिल्लो समय राष्ट्र बैंकले गरेका दुई व्यवस्थाका कारण एकैपटक यति धेरै रकम निक्षेप थपिएको हो । राष्ट्र बैंकले स्थानीय तहको ८० प्रतिशत रकम बैंकहरूले निक्षेपका रुपमा जम्मा गर्न पाउने र पुनर्कर्जाको रकम निकासा गर्दा एकसातामै ५९ अर्ब निक्षेप थपिएको हो । यस्तै गत साता पनि १४ अर्ब निक्षेप संकलन भएको थियो ।
नेपाल बैंकर्स एशोसिएसनको तथ्यांक अनुसार पुस १७ गतेदेखि २३ गतेसम्म ५८ अर्ब निक्षेप थपिएको हो । सोअवधिसम्म बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७ अर्ब नाघेको छ । जबकी पुस ९ गतेसम्म कुल ४२ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

निक्षेप उल्लेख्य रुपमा वृद्धि भए पनि कर्जा विस्तार भने सुस्त नै देखिएको छ । पछिल्लो एक सातामा कर्जा भने जम्मा ९ अर्ब प्रवाह भएको छ । १६ गतेसम्म कुल ४० खर्ब ९९ अर्ब कर्जा प्रवाह भएकोमा २३ गतेसम्म आउँदा ४१ खर्ब ८ अर्ब पुगेको छ ।
कर्जाको तुलनामा निक्षेपमा उल्लेख्य सुधार देखिँदा बैंकहरूको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो)मा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकको औसत सीडी रेसियो ८९.२९ प्रतिशतमा झरेको छ ।