चक्रपथ दोस्रो खण्डको ‘साइट क्लियरेन्स’ सकियो, डिजाइन बनाउन चिनियाँ टोली काठमाडौंमा

काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तर्गत दोस्रो खण्ड (कंलकी–वसुन्धरा) को विस्तारका लागि ‘साइट क्लियरेन्स’को काम लगभग सकिसकेको छ । कलंकीदेखि वसुन्धरा सडकमा किनाराका रुख कटान, बिजुलीको खम्बा, अस्थायी टहरा हटाउने लगायत काम सकिएको हो ।

 

आयोजना प्रमुख कुवेर नेपालीले साइट क्लियरेन्सको काम लगभग (९९.९ प्रतिशत) सकिएको बताए । उनले अबको समयमा साइट क्लियरेन्सलाई लिएर दोस्रो खण्डमा कुनै समस्या नआउने स्पष्ट पारे ।

 

‘कलंकीदेखि बसुन्धराको खण्डमा हामीले साइट क्लियरेन्सको काम लगभग सकिसकेका छाैं, त्यसमा अहिले चिनियाँ टोलीले अवलोकन गरिरहेका छन्,’ नेपालले चाणक्य पोष्टसँग भने ।

 

उक्त खण्डमा पोलहरू हटाउन समय लागेको उनको भनाइ छ । एकैपटक पोल हटाउँदा लाइन जाने र समुदायमा असहज हुने भएकाले एक/एक वटा गरेर गर्नुपर्दा केही ढिला भएको उनले बताए ।

 

विगतमा दोस्रो खण्ड अन्तर्गत कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको ११.६ किलोमिटर सडकलाई दोस्रो खण्डमा राखिएको थियो । हाल घटाएर कलंकीदेखि वसुन्धराको ८.६ किलोमिटर खण्डलाई दोस्रो खण्डमा राखिएको छ ।

 

चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको सो आयोजना अन्तर्गत साइट क्लियरेन्समा समस्या आएपछि विगतमा डिजाइनको काम सुरू हुन सकेको थिएन ।

 

चक्रपथ विस्तार आयोजना अन्तर्गत स्वयम्भूमा चैत्य भत्काउन समस्या भएको छ । सो खण्डमा पर्ने १९ घर भत्काइएको छैन । यस्तै विगतको योजना अन्तर्गत महाराजगञ्जमा पर्ने घरले समेत निर्माणमा समस्या ल्याएको थियो । दोस्रो खण्डमा महाराजगञ्जमा विस्तार नगरिने भएको छ ।

 

रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढेको हो । मझदारीपत्र (एमओयू) मा शतप्रतिशत साइट क्लियर हुनुपर्ने उल्लेख रहेकाले चिनियाँ पक्ष त्यसकै पर्खाइमा थिए । त्यसमाथि चक्रपथ पहिलो खण्डको सडक विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यस पटक चिनियाँ कम्पनीले यस्तो अडान लिएको देखिन्छ  ।

 

डिजाइनका लागि चिनियाँ टोली स्थलगत अवलोकनमा

 

नेपाली पक्षले साइट क्लियरेन्स गरेसँगै चिनियाँ टोली स्थलगत अवलोकनका लागि नेपाल आएको छ । चिनियाँ टोलीले स्थलगत अध्ययन/अवलोकनपछि सडकको डिजाइन बनाउने छ ।

 

‘टोली साइट हेर्न आएका छन्, यो हेरेर केही परिवर्तन गर्नुपरे समय लाग्छ नत्र, अब केही हप्तामा उनीहरू फर्केपछि डिजाइन बनाउने काम चीनमै सुरू गर्छन्,’ नेपालले भने ‘डिजाइन बन्न ३/४ महिना लाग्न सक्छ, ठ्याक्कै कहिलेसम्म सकिन्छ भन्ने एकीन छैन ।’

 

डिजाइन पूरा भएपछि चिनियाँ टोली आफैंले साइटमा मोबिलाइजेसन गरी काम सुरू गर्ने छन् । सडक विस्तारको प्रारम्भिक डिजाइनको काम भने भइसकेको छ । अन्तिम (फाइनल) डिजाइन गरेपछि मात्र चिनियाँँ टोलीले साइटमा काम सुरू गर्नेछ ।

 

महाराजगञ्जदेखि धोवीखोला पुलसम्मको साइट क्लियर नभएकाले त्यसलाई छोडेर बाँकी खण्ड (८ किमि) कलंकी–वसुन्धराको विस्तार थाल्न चिनियाँ टोली नेपाल आएको हो । यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर-कलंकी सडक) ८ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

एक सातामै थपियो ५९ अर्ब निक्षेप, एकैपटक कहाँबाट आयो यत्रो पैसा ? Read Next

एक सातामै थपियो ५९ अर्ब निक्षेप, एकैपटक कहाँबाट आयो यत्रो पैसा ?