काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । एशियाकै ठूलो तेल निर्यात मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो ।
एकसाता अघि प्रतिब्यारेल ७८ डलर रहेको कच्चा तेलको मूल्य प्रति ब्यारेल ८३ अमेरिकी डलरभन्दा माथि पुगेको समाचारमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा गत हप्ता समग्रमा तेलको मुनाफा ५ प्रतिशतले वृद्धि भएको छ ।
काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो । त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये रुसपछि सबैभन्दा धेरै तेल उत्पादन काजकस्तानमै हुन्छ ।
तर काजकस्तानमा पछिल्लो समय उत्पन अशान्तिका कारण आपूर्ति अवरुद्ध हुन सक्ने त्रासबीच तेलको मूल्य बढेको एएफपीले जनाएको छ । ‘दंगाले उत्पादन र आपूर्ति रोक्न सक्छ’, स्वीडिस बैंक एसईबीका विश्लेषक बेजार्नी शिल्ड्रोपले भने ।
इन्धनको मूल्य एक्कासि वृद्धि भएको विरोधमा आइतबारदेखि भएको प्रदर्शनले उग्र रुप लिएपछि काजकस्तानको सबैभन्दा ठूलो शहर अलमाटी र माङगिस्टाउ प्रान्तमा संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले सरकारी भवनमाथि आक्रमण गर्न थालेपछि र प्रहरीसँगको झडपपछि मंगलबार काजकस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले संकटकाल घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिन्छ । तत्काल नेपालमा तेलको मूल्य नबढे पनि अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढे केही सातापछि भने यहाँ पनि बढ्न सक्ने देखिन्छ ।
नेपालले हाल भारतबाट तेल खरिद गर्दै आएको छ । अन्तर्राष्ट्रि बजारमा बढेपछि भारतमा पनि बढ्ने र त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई हरके १५/१५ दिनमा तेलको थपघट भएको मूल्य पठाउने गरेको छ ।