काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन निर्देशन दिएसँगै लघुवित्तहरु ‘फोर्स मर्जर’मा जानैपर्ने अवस्था सृजना भएको छ ।
राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै कुनै वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको लघुवित्त संस्थाहरुमा १० प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएमा त्यस्ता संस्थाहरु अनिवार्य मर्जरमा जानुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानु पर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकको निर्देशनसँगै अब क्रस होल्डिङ भएका लघुवित्तहरुले २०७९ असार भित्र मर्जरको कार्य योजना पेश गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार अब १० प्रतिशत बढी क्रस होल्डिङ भए र ५१ प्रतिशत बढी वित्तीय संस्थाको लगानी भएका लघुवित्तहरुले असार भित्र आफ्नो क्षेत्रमा पर्ने संस्थाहरु कुन कुन हुन् र कहिलेसम्म मर्ज गर्ने भनेर कार्ययोजना बुझाउनु पर्ने हुन्छ ।
राष्ट्र बैंकले यसअघि मर्जरलाई प्रोत्साहन गर्दै थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच मर्जर तथा एक्वीजिसन भएमा खुद्रा कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।
४२ बैंक तथा वित्तीय संस्थाको ४१ लघुवित्तमा लगानी
कात्तिक मसान्तसम्म संचालनमा रहेका ७० वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाको सेयर लगानी रहेको छ । ती लघुवित्तहरुमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स गरी ४२ वटा संस्थाको लगानी रहेको छ ।

लघुवित्तहरुमा बैंक तथा वित्तीय संस्थाहरुको २ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर लगानी रहेको छ । ४१ वटा लघुवित्तमध्ये ९ वटामा बैंक तथा वित्तीय संस्थाको ५० प्रतिशत बढी सेयर लगानी रहेको छ भने १३ वटामा २० देखि ४९ प्रतिशत सेयर लगानी रहेको छ । त्यस्तै, २१ वटा लघुवित्तमा २० प्रतिशतभन्दा कम लगानी रहेको छ ।
कुन बैंकको कुन-कुन लघुवित्तमा छ क्रस होल्डिङ ?
नबिल बैंकको ८ वटा लघुवित्तमा क्रस होल्डिङ रहेको छ । तीमध्ये दुई लघुवित्तमा १० प्रतिशत बढी सेयर लगानी रहेको छ । नबिलको स्वाबलम्बन र नाडेप लघुवित्तमा क्रमशः १२.०२ र २५ प्रतिशत क्रस होल्डिङ रहेको छ । त्यस्तै, आरएमडीसीमा ९.७५,निर्धनमा ९.३९, डिप्रोक्समा ९.४२, छिमेक लघुवित्तमा ८.७३ र ग्रामीण विकास बैंकमा ०.८२ प्रतिशत क्रस होल्डङ रहेको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ वटा लघुवित्तमा सेयर लगानी रहेको छ । सोमध्ये दुई वटा लघुवित्तमा १० प्रतिशत बढी सेयर लगानी रहेको छ । इन्भेष्टमेन्टे स्वाबलम्बनमा १२.०२ र नेशनल लघुवित्तमा १९ प्रतिशत लगानी रहेको छ । त्यस्तै, आरएमडीसीमा ६.५ र ग्रामीण विकास बैंकमा ०.७४ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यस्तै, प्र्राइम कमर्शियल बैंकको ५ वटा लघुवित्तमा सेयर लगानी रहेको छ । सोमध्ये स्वाभिमान र नेरुडे लघुवित्तमा १० प्रतिशत बढी क्रस होल्डिङ रहेको छ । प्राइमको स्वाभिमानमा १४.५५ र नेरुडेमा ११.३२ प्रतिशत लगानी रहेको छ । मेरो माइक्रोफाइनान्स, जल्पा सामुदायिक र नेशनल लघुवित्तमा क्रमशः ७, ६.१ र ३.०२ प्रतिशत सेयर रहेको छ ।
एनआइसी एसिया बैंकको एनआइसी एसिया लघुवित्त र सृजनशील लघुवित्तमा १० प्रतिशत बढी क्रस होल्डिङ रहेको छ । बैैंककोे एनआइसीमा ५७.७५ र सृजनशीलमा १४.२९ प्रतिशत लगानी रहेको हो । त्यस्तै एनआइसीको मेरो माइक्रोफाइनान्समा ७, आरएमडीसीमा ४, महुली सामुदायिकमा २.८६ र वोमीमा २.१४ प्रतिशत सेयर लगानी गरेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ वटा लघुवित्तमा १० प्रतिशत बढी क्रस होल्डिङ रहेको छ । ग्लोबलको मेरो माइक्रोफाइनान्समा १४, ग्लोबल आाइएमई लघुवित्तमा ५७.४८ र फस्र्ट माइक्रोफाइनान्समा १०.९३ प्रतिशत क्रसहोल्डिङ रहेको छ । यसेैगरी बैंकको आरम्भ चौतारीमा २.४४ प्रतिशत लगानी रहेको छ ।
प्रभु बैंकको ७ वटा लघुवित्तमा क्रस होल्डिङ रहेको छ । तीमध्ये ४ वटामा १० प्रतिशत बढी सेयर लगानी रहेको छ । प्रभुको राष्ट्र उत्थान १७.१४, फस्र्ट माइक्रोफाइनान्समा १०.९३, उपकार १४.२९ र युनिक नेपालमा १७.१४ प्रतिशत सेयर लगानी छ ।
त्यसैगरी एनसीसी बैंकको ५ वित्तीय संस्थामा क्रस होल्डिङ रहेको छ । तीमध्ये युनिक नेपाल र नयाँ सारथी माइक्रो फाइनान्समा क्रमशः १७.१४ र १४.७२ प्रतिशत लगानी रहेको छ ।
त्यस्तै, लक्ष्मी बैंकको लक्ष्मी लघुवित्तमा ७० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको आरएमडीसी लघुवित्तमा १०.०४, हिमालयनको स्वाबलम्बनमा १२.०२, एभरेष्टको फरवार्डमा २५, माछापुच्छ्रेको महिला लघुवित्तमा २३.३३, एनएमबी बैंकको एनएमबी लघुवित्तमा ५१, सिभिल बैंकको सिभिल लघुवित्तमा ५१, राष्ट्रिय वाणिज्य बैंकको राष्ट्र उत्थानमा ३१.४३ प्रतिशत सेयर रहेको छ ।
यी हु्न मर्जरमा जानैपर्ने लघुवित्त
राष्ट्र बैंकको निर्देशन अनुसार कम्तीमा १५ वटा लघुवित्तहरु मर्जरमा जानुपर्ने देखिएको छ । ८ वटा बैंकको ती १५ वटा लघुवित्तमा क्रस होल्डिङ देखिएको छ ।
१० प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका लघुवित्तहरुमा नेशनल माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, नाडेप, स्वाबलम्बन, एनआइसी एशिया, सृजनशील, ग्लोबल आइएमई, मेरो माइक्रोफाइनान्स, नयाँ सारथी, युनिक नेपाल, राष्ट्र उत्थान, उपकार, धवलागिरि, नेरुडे र अभियान लघुवित्त रहेका छन् ।
यी लघुवित्तहरुमा वाणिज्य बैंकहरुको १० प्रतिशत बढी सेयर लगानी रहेकाले आगामी असार मसान्त भित्र मर्जरको कार्ययोजना पेश गर्नुपर्नेछ ।