वेलायत । क्रिशमसको बिहान हजारौँ मानिस स्यान्टान्डर बैंकले आफ्ना खातामा त्यसै पठाएको रकम देखेर छक्क परेका छन् । यस बैंकले गल्तीवश २५ डिसेम्बरमा ७५ हजार व्यक्तिका खातामा यसरी १३ करोड पाउन्ड (करिब २० अर्ब ८० करोड नेपाली रुपैयाँ) जम्मा गरिदिएको थियो ।
अहिले स्यान्टान्डर बैंकका कर्मचारीहरु यसरी पठाइएका पैसा फर्काउन व्यस्त रहेका छन् । तर अधिकांश रकम आफ्ना प्रतिद्वन्द्वी बैंकहरुमा जम्मा गरिएकाले तिनीहरुको पैसा फर्काउने काम अझै कठिन भएको दी टाइम्सले जनाएको छ ।
२ हजार व्यापार खाताबाट पठाइएका भुक्तान दोस्रो पटक तयार गरिँदा यो गम्भीर त्रुटी हुन गएको थियो । बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्राविधिक कारण हाम्रा कर्पोरेट ग्राहकहरुले गरेका भुक्तान गल्तीवश प्रापकहरुका खातामा नक्कल हुनपुगेकोमा हामी क्षमाप्रार्थी छौं ।’
तर कुनै पनि ग्राहकको पैसा हराएको छैन । वेलायतभरिका थुप्रै बैंकबाट गल्तीवश जम्मा हुन पुगेका पैसा केही दिनभित्र फर्काउन कडा परिश्रम गरिरहेको बैंकले जनाएको छ । एजेन्सी