हुलाकी राजमार्गको व्यथा : दुई लेनको कालोपत्र सडक बन्यो, तर खोला तर्न छैन पुल

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ ।

 

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।

 

उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताए ।

 

“जति ढिलो हुनु भइसक्यो”, उनले भने, “आर्थिक वर्ष विसं २०७९/८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।” जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ ।

 

सडक निर्माण अन्तिम चरणमा

 

भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्म करिब ४८ मध्ये ३५ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको छ । इन्जिनियर खतिवडाले राजगढको जनता बजारदेखि कनकाई पुल छेउको कुञ्जिबारीसम्मको १३ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बताए । उनले चालु आर्थिक वर्षको अत्यसम्ममा झापा खण्डमा रहेको ४८ किलोमिटर नै सडक सम्पन्न हुने बताए।

 

सो सडक दुई लेनको बनिरहेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए । मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका छन् ।

 

पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधारा पुलसम्म एक हजार ६००मी को हुलाकी मार्ग निमौणपछि तराई मधेशका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको उनको भनाइ छ ।

 

त्यसैगरी, हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको उनले जानकारी दिए ।

 

हुलाकी सडकले फेरियो गौरीगञ्जको मुहार

 

जिल्लाको पुरानो बजार गौरीगञ्जको मुहार हुलाकी सडक निर्माणसँगै फेरिएको छ । बजारको करिब डेढ किलोमिटर क्षेत्रमा भने ‘फोर लेन’को सडक निर्माण भएको छ । यो सडक बनेपछि गौरीगञ्जमा बसाई सरेर आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

 

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडकका कारण यस क्षेत्रको व्यापार व्यवसायसमेत फस्टाएको बताए । उनले भने, “दुई वर्षअघिसम्म यहाँबाट अन्यत्र बसाई सरेर जाने मात्र हुन्थे, अहिले बाहिरका मानिसहरु आएर भटाभट घडेरी किनेर घर बनाइरहेका छन् ।”

 

उनले ५ वर्ष अघिसम्म प्रतिकट्ठा ५ लाखमा पाइने जग्गाको मूल्य बढेर हाल रु २५ लाख पुगेको जानकारी दिए । गौरीगञ्ज बजारको करिब ५ किलोमिटरको दूरीमा रहेको रतुवा खोलाको पुल बनेर सडक सञ्चालनमा आएपछि गौरीगञ्जसहित दक्षिणी क्षेत्रको स्वरुप नै फेरिने विश्वास लिएको बताए । रासस

बैंकले गल्तीवश ७५ हजार खातामा २१ अर्ब पठाएपछि... Read Previous

बैंकले गल्तीवश ७५ हजार खातामा २१ अर्ब पठाएपछि...

धान उत्पादन ५ वर्ष यताकै कम, कुन प्रदेशमा कति भयो उत्पादन ? Read Next

धान उत्पादन ५ वर्ष यताकै कम, कुन प्रदेशमा कति भयो उत्पादन ?